दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।
यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाहरूको बैठकले देशभर लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गर्ने निर्णय गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिए।
लगातारको वर्षा तथा बाढीपहिरोका कारण अवरुद्ध भएका प्रमुख राजमार्ग सरकारले तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालन सहज बनाउने प्रतिबद्धता जनाएपछि व्यवसायीहरू अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका हुन्।
बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
दसैँ, तिहार तथा छठका वेला ठुलो संख्यामा यात्रु राजधानीबाट घर फर्किने भएकाले अग्रिम टिकट बुकिङले यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ।
