भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष पूरा गरेको अवसरमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बधाई प्रस्ताव पारित गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मोदीको २५ वर्षे निरन्तर नेतृत्वलाई ‘राष्ट्र प्रथम’ र ‘नागरिक प्रथम’को भावनाबाट निर्देशित यात्राका रूपमा प्रस्तुत गर्दै प्रस्ताव पारित गरेको भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी)ले जनाएको छ।
प्रस्तावमा मोदीको गुजरातको मुख्यमन्त्रीदेखि भारतको प्रधानमन्त्रीसम्मको राजनीतिक यात्रालाई जोड्दै गुजरातमा प्रयोग गरिएका विभिन्न विकास तथा सुशासनका अभ्यास राष्ट्रिय स्तरमा विस्तार गरिएको उल्लेख गरिएको छ। नागरिकका गुनासा प्रत्यक्ष सुन्ने ‘स्वागत’ प्रणालीबाट ‘प्रगति’ कार्यक्रमसम्मका पहललाई यसको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।
गरिबी न्यूनीकरण र सामाजिक सुरक्षाका क्षेत्रमा मोदी नेतृत्वको सरकारले अघि बढाएका कार्यक्रमलाई पनि प्रस्तावमा प्रमुखताका साथ उल्लेख गरिएको छ। भारतमा करिब ६० करोड जनधन खाता खोलिएको, ४ करोडभन्दा बढी घर निर्माण भएको तथा करिब २५ करोड मानिस गरिबीबाट बाहिरिएको दाबी प्रस्तावमा गरिएको छ।
त्यस्तै महिला सशक्तीकरण, युवाका लागि रोजगारी तथा सीप विकास, किसानलाई प्रत्यक्ष आर्थिक सहायता र आदिवासी समुदायका लागि लक्षित कार्यक्रमलाई पनि मोदी नेतृत्वका प्रमुख उपलब्धिका रूपमा प्रस्तावमा समेटिएको छ। प्रस्तावअनुसार करिब ३ करोड ५० लाख महिला ‘लखपति दीदी’ बनेका छन् भने प्रधानमन्त्री किसान सम्मान निधिअन्तर्गत ४ लाख करोड भारुभन्दा बढी रकम हस्तान्तरण गरिएको छ।
आर्थिक तथा प्रशासनिक सुधारतर्फ वस्तु तथा सेवा कर (जीएसटी), कल्याणकारी कार्यक्रमको प्रत्यक्ष वितरण प्रणाली तथा औपनिवेशिककालीन कानुनको प्रतिस्थापनलाई मोदी नेतृत्वको सुधार प्रयासका रूपमा उल्लेख गरिएको छ।
आत्मनिर्भर भारत निर्माणतर्फ सार्वजनिक पुँजीगत खर्च २ लाख करोड भारतीय रुपैयाँबाट बढेर १२ लाख करोड रुपैयाँभन्दा माथि पुगेको र इलेक्ट्रोनिक्स उत्पादन करिब २ लाख करोडबाट बढेर १३ लाख करोड रुपैयाँभन्दा बढी पुगेको प्रस्तावमा उल्लेख छ। रक्षा उत्पादन र अर्धचालक (सेमिकन्डक्टर) उत्पादनमा भएको विस्तारलाई पनि आत्मनिर्भरतातर्फको कदमका रूपमा प्रस्तुत गरिएको छ।
प्रविधिको क्षेत्रमा जनधन, आधार र मोबाइल प्रविधिको प्रयोगबाट सेवा प्रवाहमा सुधार आएको तथा यूपीआईले डिजिटल भुक्तानीमा ठूलो परिवर्तन ल्याएको प्रस्तावमा उल्लेख छ। भारतले आफ्नै कोभिड-१९ खोप विकास गर्नु र चन्द्रयान-३ लाई चन्द्रमाको दक्षिणी ध्रुवनजिक सफलतापूर्वक अवतरण गराउनु पनि मोदी नेतृत्वको वैज्ञानिक तथा प्रविधिगत उपलब्धिका रूपमा प्रस्तावमा समेटिएको छ।
कोभिड-१९ महामारी तथा पश्चिम एसियाको संकटका क्रममा मोदी नेतृत्वले भारतलाई कठिन परिस्थितिबाट अघि बढाएको दाबी पनि प्रस्तावमा गरिएको छ।
राष्ट्रिय सुरक्षाका विषयमा सन् २०१६ को ‘सर्जिकल स्ट्राइक’, सन् २०१९ को बालाकोट हवाई हमला र सन् २०२५ को ‘अपरेसन सिन्दूर’लाई मोदी नेतृत्वमा तय गरिएको राष्ट्रिय सुरक्षा नीतिको उदाहरणका रूपमा उल्लेख गरिएको छ। धारा ३७० खारेज, ‘वान र्याङ्क वान पेन्सन’ तथा प्रमुख रक्षा प्रमुख (सीडीएस) पदको सिर्जनालाई पनि प्रस्तावमा समेटिएको छ।
अन्तर्राष्ट्रिय मञ्चमा भारतको प्रभाव विस्तार भएको दाबी गर्दै जी२० र ब्रिक्समा सहमति निर्माण, ग्लोबल साउथको पक्षमा भारतको पैरवी तथा अफ्रिकी संघलाई जी२० मा समावेश गराउने पहललाई मोदीको कूटनीतिक नेतृत्वसँग जोडिएको छ। प्रस्तावमा मोदीलाई ३६ देशबाट विभिन्न सम्मान प्राप्त भएको पनि उल्लेख गरिएको छ।
त्यस्तै योग, श्रीअन्न (मिलेट), काशी विश्वनाथ धाम तथा रामललाको प्राणप्रतिष्ठाजस्ता विषयलाई भारतको सांस्कृतिक विरासतसँग जोड्दै वातावरण संरक्षण र विकासबीच सन्तुलन कायम गर्ने प्रयासलाई पनि प्रस्तावमा समेटिएको छ।मन्त्रिपरिषद्को प्रस्तावले सन् २०४७ सम्म भारतलाई समृद्ध, आत्मनिर्भर र विकसित राष्ट्र बनाउने लक्ष्यप्रति प्रतिबद्धता दोहोर्याएको छ।
