दशैंमा ६५ हजार सवारी साधन आवश्यक, करिब १० लाखले काठमाडौं छाड्ने

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

आगामी दशैंलाई लक्षित गरी काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप व्यवस्थापन गर्न ४३ हजार ५७४ देखि ६५ हजार ३६१ सार्वजनिक सवारी साधन आवश्यक पर्ने अध्ययनले देखाएको छ। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा गरिएको अध्ययन प्रतिवेदन बुधबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई बुझाइएको हो।

अध्ययनले यस वर्षको दशैंमा ६ लाख ५० हजारदेखि ९ लाख ७५ हजारसम्म यात्रुले उपत्यका छाड्ने प्रक्षेपण गरेको छ। घटस्थापनादेखि नवमीसम्म उपत्यकाबाट बाहिरिने यात्रुको चाप उच्च हुने र फूलपाती तथा त्यसको आसपासका दिनमा सडक तथा सार्वजनिक यातायातमा अत्यधिक दबाब पर्ने अध्ययनमा उल्लेख छ।

गत वर्ष ट्राफिक प्रहरीको तथ्यांकअनुसार दशैंका बेला करिब ६ लाख ११ हजार यात्रुले उपत्यका छाडेका थिए। यातायात व्यवसायी महासंघको तथ्यांकमा भने यो संख्या करिब १९ लाख रहेको उल्लेख छ।

अध्ययनअनुसार गत वर्ष दशैंको समयमा उपत्यकाबाट दैनिक औसत ८ हजार १०१ सवारी बाहिरिएका थिए। सप्तमीका दिन भने अधिकतम १९ हजार ६७१ सवारी बाहिरिएका थिए। यस आधारमा समग्रमा सार्वजनिक यातायातका साधन पर्याप्त देखिए पनि क्षेत्रगत रूपमा माग र आपूर्तिबीच असन्तुलन हुँदा यात्रुले समस्या भोग्नुपर्ने अवस्था रहेको अध्ययनको निष्कर्ष छ।

सडकको अवस्था, सवारीको तालिका, जामलगायतका कारण निर्धारित समयमा गन्तव्यमा पुग्न नसक्ने समस्या पनि दशैंका बेला देखिने गरेको छ।

दशैंमा यातायात व्यवस्थापनका क्रममा बसपार्क तथा सडक किनारका स्टपमा यात्रुको भीड, सडक जाम, दुर्घटना, चोरी, टिकट तथा भाडामा कालोबजारी, क्षमताभन्दा बढी यात्रु बोक्ने र चालकले पर्याप्त आराम नगरी लामो समयसम्म सवारी चलाउनेजस्ता समस्या देखिने अध्ययनले औंल्याएको छ।

यस वर्ष उपत्यका ट्राफिक प्रहरीले १ हजार ३०० भन्दा बढी जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। त्यस्तै १० स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने, लामो दूरीको ट्राफिक व्यवस्थापन तथा सवारी र चालकको जाँच गर्ने योजना बनाइएको छ।

सडक विभागले सम्भावित दुर्घटना तथा विपद्का घटनालाई ध्यानमा राखेर १८ स्थानमा ठूला उपकरण र आपत्कालीन उद्धारका लागि जनशक्ति तयारी अवस्थामा राख्ने भएको छ। काठमाडौं महानगरपालिकाले बसपार्क तथा सडक व्यवस्थापनका लागि नगर प्रहरी परिचालन गर्ने तयारी गरेको छ।

यातायात व्यवसायी महासंघले यस वर्ष १५ देखि १७ लाख यात्रुले उपत्यका छाड्न सक्ने अनुमान गर्दै आवश्यक सवारी व्यवस्थापन, अनुगमन र निगरानीका लागि तयारी अघि बढाएको जनाएको छ।

अध्ययन समितिले यात्रालाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउन टिकट काउन्टर तथा अग्रिम टिकट बुकिङलाई व्यवस्थित गर्नुपर्ने, सवारीको फिटनेस परीक्षण, क्षमताभन्दा बढी यात्रु तथा भार नियन्त्रण र टिकटमा हुने कालोबजारी रोक्नुपर्ने सुझाव दिएको छ।

त्यस्तै लामो दूरीका सवारीका चालकले आवश्यक आराम गरेको सुनिश्चित गर्नुपर्ने तथा प्रत्येक सवारीमा प्राथमिक उपचार सामग्री र अग्नि नियन्त्रक राख्नुपर्ने सुझाव दिइएको छ।

सडक विभागले सडकको अवस्थाबारे निरन्तर सूचना प्रवाह गर्ने र दुर्घटना तथा विपद्का क्षेत्रमा आवश्यक ठूला उपकरण तथा जनशक्ति तत्काल परिचालन गर्ने व्यवस्था गर्नुपर्ने अध्ययनले सुझाएको छ। यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायी महासंघबीच प्रभावकारी समन्वय र अनुगमन आवश्यक रहेको पनि प्रतिवेदनमा उल्लेख छ।

अध्ययन समितिले दीर्घकालीन रूपमा यातायात क्षेत्रको तथ्यांक संकलन र प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएको छ। सवारीको अवस्थाबारे जानकारी लिन स्मार्ट सवारी फिटनेस प्रणाली, डिजिटल टिकट तथा चलान र प्रभावकारी सूचना प्रवाहलाई विस्तार गर्नुपर्ने सुझाव दिइएको छ।

यात्रु व्यवस्थापनलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन सशक्त सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्नुपर्ने आवश्यकता पनि प्रतिवेदनले औंल्याएको छ।

प्रतिवेदन बुझाउने क्रममा भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिवेदनमा उल्लेखित सुझावहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *