संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । आज बिहान सवा ११ बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने कार्यसूची छ ।
संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरुमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)को नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
यसअघि ५ साउनमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित दुई जना आयुक्तहरुलाई साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तलाई १३ गते प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको थियो । समिति सभापति वोधनारायण श्रेष्ठले दुवै दिनको बैठक बिहान सवा ११ बजे बस्ने जानकारी गराएका थिए ।
संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । सुनुवाइ समितिका सभापति श्रेष्ठका अनुसार सुनुवाइ सुरु हुनुअघि प्रस्तावित आयुक्त र प्रमुख आयुक्तहरुमाथि परेका उजुरीहरु र कार्ययोजनाको अध्ययन गरिने छ । त्यससँग सम्बन्धित डकुमेन्टहरु समिति सदस्यहरुलाई इमेलमा पठाइएको सभापति थापाले बताए ।
