बाढीपहिराेले आठ राजमार्ग अवरुद्ध

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

विभिन्न स्थानमा अविरल वर्षासँगै बाढीपहिराका कारण आठवटा राजमार्ग अवरुद्ध भएका छन् । बाढीपहिरोले पूर्ण रूपमा अवरूद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आज पर्साको ठोरी गाउँपालिका–२ हुलाकी राजमार्ग सडकखण्डमा पर्ने ढेडु खोला र अन्य खहरे खोलामा अविरल वर्षाको कारण आएको बाढीले सडक अवरुध्द भएकोमा आज दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

प्रहरी प्रधान कार्यलयले आज जारी गरेको विज्ञप्ति अनुसार काभ्रेपलाञ्चोक-सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरू (बिपी राजमार्ग) सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको छ ।

सोमबार बिहान ललितपुरको बाग्मती गाउँपालिका–३, भट्टेडाँडास्थित पाङदुर, टाकुर्चे र भालु खोलासहित तीन ठाउँमा अविरल वर्षातको कारण कान्तिलोकपथ सडकखण्डमा पहिरो गई बाटो पूर्णरूपमा अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । यही असार २३ गते इलामको इलाम नगरपाालिका–९, राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण बाटो हिलो भई सवारी साधन आवतजावत गर्न नसक्ने भएकाले उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको, (उक्त स्थानमा वैकल्पिक बाटो रहेको) छ  ।

“ताङतिङ सडकखण्ड  पूर्णरूपमा अवरुद्ध  भएको छ । यही असार २७ गते कास्कीको मादी गाउँपालिका–२, ज्याम्दोस्थित पोखरा ताङतिङ भित्री सडकखण्डमा बाटो मुनि लगाइएको तार जालिको ग्याबिन पर्खाल भत्किएर बाटो पूर्णरूपमा अवरुद्ध भएको हो”, विज्ञप्तिमा भनिएको छ, “सालझन्डि ढोरपाटन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । आइतबार अर्घाखाँचीको पाणिनी–२, ढुङ्गेखोलास्थित सालझन्डी ढोरपाटन सडकखण्डमा बाटोको माथिबाट ढुङ्गा खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो।”

यसैगरी कालीगण्डकी काेरिडोर अवरुद्ध भएको छ । सोमबार गुल्मीको कालीगण्डकी–४, पुर्तिघाटस्थित कालीगण्डकी काेरिडोर सडकखण्डमा पातु खोलाको बहाव बढी भएपछि बाटो अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सोमबार कास्कीको मादी–४, भैसेस्थित मध्यपहाडी लोकमार्ग अन्तर्गत भैँसेबाट इदि जाने (भित्री सडक)मा ओख्रेभिरबाट झरेको लेदो, पहिरो र मादी खोलाको पानीसमेत सडकमा आई बाटो पूर्णरूपमा अवरुद्ध भएको छ  ।

प्रहरीका अनुसार रिडी वामी सडक पूर्णरूपमा अवरुद्ध भएको छ । आज बिहान गुल्मीको मुसिकोट–५ तल्लो फाँटस्थित रिडी वामी सडकखण्डको ठाँडो गिरु खोलाको बहाव बढी बाटो कटान गरी लगेको हुँदा  अवरुद्ध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *