विश्वकपमा पहिलो पटक भिड्दै इङ्ग्ल्यान्ड र नर्वे

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

इङ्ग्ल्यान्डले घरेलु मैदानमा विश्वकपको उपाधि जितेको ६० वर्ष पुगिसकेको छ । विश्व फुटबलमा बलियो राष्ट्र इङ्ग्ल्यान्डले सन् १९६६ मा जितेको सो विश्वकप अहिलेसम्मकै एक मात्र प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो । त्यसपछि इङ्ग्ल्यान्डले कैयौँ पटक नजिक पुगेर पनि प्रमुख उपाधि जित्न सकेको छैन ।

इङ्ग्ल्यान्ड यसपालि विश्वकप उपाधिको पर्खाइलाई समाप्त पार्ने दाउमा छ तर सो गौरव दोहर्याउन इङ्ग्ल्यान्डले अब विश्वकपमा अझै तीन खेल जित्नुपर्ने हुन्छ । अहिले सबभन्दा पहिलो चुनौतीका रूपमा इर्लिङ हालान्डको टिम नर्वे तेर्सिएको छ ।

नर्वेले क्वाटरफाइनल पुगेर आफ्नो फुटबल इतिहासमा पहिले नै सुनौलो कथा लेखिसकेको छ । नर्वेका स्ट्राइकर हालान्ड यस विश्वकपमा सर्वाधिक प्रभाव पार्ने खेलाडीमध्ये एक हुन । उनले सात गोल गरेर नर्वेलाई पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुर्याउनु हाे । यसअघि नर्वेले अन्तिम १६ अगाडिको यात्रा तय गर्न सकेको थिएन । इङ्ग्ल्यान्ड भने ११ औँ पटक विश्वकपको क्वाटरफाइनल खेल्दै छ ।

हालान्डको दुई गोलको सहयोगमा नर्वेले प्रिक्वाटरफाइनलमा पाँच पटकको विजेता ब्राजिललाई २–१ ले स्तब्ध पारेको थियो । विश्वका खतरनाक स्ट्राइकरका रूपमा कहलिएका हालान्डलाई ब्राजिलका डिफेन्सले खेलको लामो समयसम्म शान्त नै राखेको थियो । हालान्डले खासै बल पाएका  थिएनन् तर खेलको अन्तिम समयतिर दुई उत्कृष्ट गोल गरी ब्राजिलको हारको कारण बने  ।

यसरी ६.५ इन्च अग्ला हालान्डले आफूलाई खेल उल्ट्याउन एक, दुई अवसर नै पर्याप्त छ भनेर देखाए । जुन इङ्ग्ल्यान्डका लागि पनि समस्या हुन सक्छ । गोल्डेन बुटको होडमा फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनेल मेसीभन्दा हालान्ड मात्र एक गोलले पछाडि छन्।

त्यसैले पनि इङ्ग्ल्यान्डविरुद्धको खेल हालान्डका लागि गोल गर्ने अर्को प्रेरणा बन्न सक्छ ।  लगातार १४ अन्तर्राष्ट्रिय खेलमा गोल गरेर बनाएको कीर्तिमान हालान्डले इङ्ग्ल्यान्डविरुद्धको खेलमा लम्ब्याउने प्रयास गर्ने छन् । पछिल्ला १४ अन्तर्राष्ट्रिय खेलमा हालान्डले २७ गोल गर्नु र  उनले नर्वेका लागि ५४ खेलमै ६२ गोल गरिसकेका  छन् । जुन अन्तर्राष्ट्रिय गोल औसतको दुर्लभ तथ्याङ्क हो ।

एक टिमका रूपमा नर्वेभन्दा इङ्ग्ल्यान्ड निकै बलियो देखिन्छ । यसै गरी प्रमुख प्रतियोगिताको अनुभव पनि इङ्ग्ल्यान्डसँग धेरै छ । पछिल्ला आठ वर्षको मात्र कुरा गर्ने हो भने इङ्ग्ल्यान्ड विश्वकप २०१८ को सेमिफाइनल तथा युरो च्याम्पियनसिप २०२१ र २०२४ को फाइनलमा पुगेको थियो । इङ्ग्ल्यान्डमै जन्मेका नर्वेका मिडफिल्डर क्रिस्टियन थोर्सभेटले नर्वेलाई गुमाउनु केही छैन भने  । उनका अनुसार इङ्ग्ल्यान्ड उपाधि दाबेदारमध्ये एक हो । त्यसैले जितको दबाब इङ्ग्ल्यान्डमा बढी छ ।

हालान्ड यस इङ्ग्ल्यान्डको टिमसँग परिचित पनि हुनुहुन्छ । प्रिमियर लिगमा चार वर्ष बिताएका हालान्डले सँगै खेलेका म्यान्चेस्टर सिटीका पूर्व र हालका गरी पाँच खेलाडी इङ्ग्ल्यान्डको टिममा छन् । जसमध्ये हालान्डलाई रोक्ने जिम्मेवारी पाएका डिफेन्डर जोन स्टोन्स पनि हुन  । स्टोन्सले नर्वेलाई हलुका रूपमा नलिने बताए । “हामीलाई नर्वेको क्षमता थाहा छ । विशेषतः इर्लिङ जस्ता खेलाडी सो टिममा छन् तर अहिलेसम्म यस प्रतियोगितामा हाम्रो डिफेन्स धेरै राम्रो भएको छ,” उनले भने ।

नर्वेको अहिलेसम्मको यात्रामा हालान्डका साथै प्लेमेरक मार्टिन ओडगार्डको प्रमुख भूमिका रहेको छ तर यस टिमको प्रमुख शक्ति टिम भावना हो । मिडफिल्डर मोर्टन थोस्र्बी पनि भने , “हाम्रो टिममा नकारात्मक ऊर्जा छैनभन्दा हुन्छ । हामी लामो समयदेखि साथमा छौँ र राम्रो समय व्यतीत गरिरहेका छौँ ।”

इङ्ग्ल्यान्डले पनि एकजुट टिमका रूपमा आफूलाई प्रस्तुत गरेको छ । सहआयोजक मेक्सिकोविरुद्ध १० खेलाडीमा सीमित भएर पनि उसले अन्तिम १६ को खेल जितेको थियो । सो खेलमा इङ्ग्ल्यान्डको डिफेन्स पनि उत्कृष्ट रहेको थियो तर डिफेन्डर जारेल क्वान्साको दुई खेलका प्रतिबन्धले इङ्ग्ल्यान्डलाई केही समस्यामा पारेको छ ।

मेक्सिकोविरुद्ध रातो कार्ड पाएपछि क्वान्सा नर्वेविरुद्ध खेल्न वञ्चित हुन  । फिफाले मेक्सिकोका जेसस गालार्डोलाई खतरनाक ढङ्गले लडाएको भन्दै दुई खेलमा खेल्न नपाउने सजाय सुनाएको हो । इङ्ग्ल्यान्डका फरवार्ड बुकायो साकाले सो निर्णयलाई निकै निराशाजनक  छ ।

क्वान्साको प्रतिबन्धले इङ्ग्ल्यान्डको राइट ब्याक केही कमजोर हुने देखिएको छ । सो स्थानमा खेल्ने पहिलो रोजाइका खेलाडी रिस जेम्स चोटका कारण यस विश्वकपको दोस्रो खेल घानाविरुद्ध खेलेपछि मैदानमा उत्रेका छैनन् । त्यसपछि सोही स्थानमा खेल्ने टिनो लिभ्राभेन्टो पनि चोटकै कारण प्रतियोगिताअघि नै घर फर्केका थिए  ।

प्रशिक्षक थोमस टुचेलले राइट ब्याकमा अब सेन्टर ब्याक ट्रेभो चालोबालाई खेलाउने सम्भावना रहेको छ । यसअघि टुचेल रियल म्याड्रिडका राइट ब्याक ट्रेन्ट अलेक्जयान्दर आर्नोल्डलाई टिममा नराखेपछि आलोचित भए ।

तर कप्तान हेरी केनको सानदार लय इङ्ग्ल्यान्डका लागि खुसीको खबर बनिरहेको छ । केनले यस प्रतियोगितामा छ गोल गरिसकेका छन् । मिडफिल्डर युड बेलिङ्घमले पनि गजबको फुटबल खेलिरहेका छन् । बेलिङ्घमले मेक्सिकोविरुद्ध दुई गोल गरेर इङ्ग्ल्यान्डलाई अन्तिम आठमा पुर्याए । नर्वे र इङ्ग्ल्यान्डले अहिलेसम्म विश्वकपमा एकअर्कासँग खेलेका छैनन् तर यी दुई टिमबिच विगतमा ११ भिडन्त भएका छन् । जसमध्ये इङ्ग्ल्यान्डले छ खेल जितेको छ भने तीन खेल हारेको छ । दुई खेल बराबरीमा सकिएको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *