फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरणको सुरुआत आज फ्रान्स र मोरक्कोबीचको रोमाञ्चक प्रतिस्पर्धाबाट हुँदैछ। नेपाली समयअनुसार खेल राति १:४५ बजे सुरु हुनेछ। सन् २०२२ विश्वकपको सेमिफाइनलको पुनरावृत्तिका रूपमा रहेको यस खेलमा दुवै टोली सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्। विजेता टोली उपाधिबाट दुई जितको दूरीमा पुग्नेछ।
फ्रान्सले अन्तिम १६ मा पाराग्वेलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। खेलमा टोलीले अपेक्षाअनुसार प्रभावशाली प्रदर्शन गर्न नसके पनि कप्तान किलियन एम्बाप्पेको पेनाल्टी गोल निर्णायक बनेको थियो। प्रतियोगितामा सात गोल गरिसकेका एम्बाप्पे लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्ने लक्ष्यमा छन्।
प्रशिक्षक डिडिए डेसचाम्प्सले विजयी टोलीमा धेरै परिवर्तन नगर्ने संकेत दिएका छन्। मिडफिल्डमा मानु कोने र एड्रियन राबियोले जिम्मेवारी सम्हाल्ने सम्भावना छ भने ओरेलियन चुआमेनीको खेल्ने सम्भावना न्यून रहेको बताइएको छ।
यता, मोरक्कोले अन्तिम १६ मा क्यानडालाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो। पहिलो हाफमा दबाबमा परेको टोलीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै सहज जित निकालेको थियो। अजेद्दिन ओउनाहीले दुई गोल गर्दा सुफियान रहिमीले एक गोल गरेका थिए।
सन् २०२२ मा पोर्चुगललाई हराउँदै विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरक्को यसपटक पनि इतिहास दोहोर्याउने लक्ष्यमा छ। त्यसका लागि उसले विश्व वरीयताको शीर्ष टोली फ्रान्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ।
मोरक्कोका लागि भने केही खेलाडीको फिटनेस चिन्ताको विषय बनेको छ। इस्माइल साइबारी ह्यामस्ट्रिङ चोटका कारण खेल्ने सम्भावना अनिश्चित छ। उनको स्थानमा उत्कृष्ट लयमा रहेका रहिमीले सुरुआती रोजाइ पाउने अपेक्षा गरिएको छ। यस्तै, चादी रियादको अवस्थासमेत स्पष्ट नभएकाले रेडुआन हलहालले अवसर पाउन सक्ने अनुमान गरिएको छ।
यस खेलको विजेताले सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
