पोखराको फेवातालमा सोमबार पुरुष तथा महिला खुला डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ कुमार जलारी, गणेश जलारी र कृष्ण जलरी सम्मिलित हर्पन मत्स्य सहकारी संस्था प्रथम हुँदा महिलातर्फ सोनी गुरुङ, दिलसुब्बा गुरुङ र सीता श्रेष्ठ सम्मिलित पहारीघाट प्रथम बनेको छ ।
फेवा डुङ्गा व्यवसायी सङ्गठनको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकीको प्रवर्धनमा प्रतियोगिता भएको हो । पुरुषतर्फ टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्थाकै अर्को टोलीले दोस्रो, कपिल चौधरी, सुन्दर आले र सुदर्शन सम्मिलित वाराहीघाट समूह तेस्रो तथा विशाल श्रेष्ठ, चित्र मगर र चन्द्र माझी सम्मिलित समूह सान्त्वना बन्यो ।महिलातर्फ उषा गुरुङ, निर्मला गुरुङ र अस्मिता मगर सम्मिलित तालपारी दोस्रो, अन्जना जलारी, चन्द्रमाया जलारी र पञ्चमाया जलारी सम्मिलित जलारी दिदीबहिनी समूह तेस्रो हुँदा कृष्णकुमारी कँडेल, पूर्णकला हिमाली र सीता हिमाली सम्मिलित टोलीले सान्त्वना ठहरिए ।
प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथमले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार तथा सान्त्वनाले पाँच हजारसहित ट्रफी र प्रमाणपत्र पाएका छन् । विजयी खेलाडीलाई आयोजक समिति अध्यक्ष बलराम गिरी, पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी, खेलकुद संयोजक बत्ति गुरुङ, आर्थिक समिति संयोजक बुद्धिनाथ पाण्डे लगायतले पुरस्कार वितरण गरे ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणिराज लामिछानेले उत्सवहरूको शहर पोखराको पर्यटन प्रवर्धनमा यो प्रतियोगिताको पृथक महत्त्व रहेको बताउदै “यो फरक खालको महोत्सवको निरन्तरताका लागि पर्यटन बोर्डले यथाशक्य सघाउने छ,” भने । पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीले पोखरामा खेल पर्यटनको विकास गर्दै पर्यटन प्रवर्धनका लागि पनि डुङ्गा दौड प्रतियोगिता नयाँ आकर्षण बन्ने बताए ।
यसअघि पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले प्रतियोगिता सुरुआत गरेका थिए । वडाध्यक्ष भट्टराईले फेवातालको प्रचारप्रसार तथा पुराना डुङ्गाको महत्त्व उजागर गर्न पनि प्रतियोगिता सघाउने उल्लेख गरे । आयोजक संस्थाका अध्यक्ष बलराम गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्धनका लागि प्रतियोगिता सहयोगी बनेको बताए । फेवातालका आठ घाटमा समितिमा आबद्ध सात सयभन्दा बढी डुङ्गा छन् ।
