देशभर भारी वर्षाको चेतावनीः धानदेखि तरकारीसम्म जोखिममा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

यस वर्षको मनसुन देशभर सक्रिय भएसँगै किसानका अनुहारमा आशा र चिन्ता दुवै देखिन थालेका छन् । केही साताअघि वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्ताले किसानलाई सताइरहेको थियो । अहिले भने अवस्था उल्टिएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी साताभर देशका अधिकांश भूभागमा मध्यमदेखि भारी तथा केही स्थानमा धेरै भारी वर्षाको सम्भावना औँल्याएपछि कृषकहरूमा चिन्ता छाएको हो । हरेक वर्ष अत्यधिक वर्षाका कारण असारमा रोपेको धान पुरिने, बाढीले बगाउने र पहिरोले खत्तम पार्ने भएका कारण उनीहरूमा चिन्ता छाएको हो ।

अहिले कृषकहरू कृषि उत्पादन जोगाउनेभन्दा पनि वर्षाबाट हुने क्षति कम गर्नेमा केन्द्रित हुन थालेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जारी गरेको कृषि मौसम बुलेटिनले पनि मौसम विभागको पूर्वानुमानलाई आधार मानेर कृषकलाई बालीनालीमा पानीको निकास व्यवस्थापन, रोग–कीरा नियन्त्रण, पशुपालन तथा मत्स्यपालनमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान अझै पनि महत्वपूर्ण छ । कुल श्रमशक्तिको ठूलो हिस्सा कृषिमै निर्भर छ भने धान उत्पादनले मात्र खाद्य सुरक्षादेखि ग्रामीण अर्थतन्त्रसम्म प्रत्यक्ष प्रभाव पार्छ । यही कारण मनसुनको प्रत्येक उतारचढाव मौसमको विषय मात्र नभई आर्थिक, सामाजिक र राष्ट्रिय सरोकारको विषय बन्ने गरेको छ ।

यस वर्ष मनसुन ५ असारमा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो । सामान्यतया मनसुन जेठ अन्तिम सातातिर प्रवेश गर्ने भए पनि यसपटक औसतभन्दा करिब छ दिन ढिलो भएको थियो ।

मनसुन ढिलो हुँदा पूर्वी तराईदेखि पश्चिम नेपालसम्म धानको ब्याड तयार भइसके पनि रोपाइँ हुन नसकेका हजारौं हेक्टर खेतमा किसानले आकाशतिर हेरेर वर्षाको प्रतीक्षा गर्नुपरेको थियो । तर मनसुन प्रवेश गरेपछि बिस्तारै सक्रिय हुँदै १६ असारसम्म आइपुग्दा देशभर फैलिएको मौसम विभागको तथ्यांक छ ।

मौसमविद्का अनुसार १९ असारदेखि २५ असारसम्म अर्थात् शुक्रबारदेखि आगामी बिहीबारसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा भारी वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा साताको सुरुवात र मध्यतिर धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । हिमाली क्षेत्रमा पनि वर्षासँगै हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

विगत केही वर्षयता नेपालमा मनसुनको स्वरूप बदलिँदै गएको मौसमविद्हरूको विश्लेषण छ । पहिले लामो समयसम्म सामान्य वर्षा हुने प्रवृत्ति थियो । अहिले भने छोटो अवधिमा अत्यधिक वर्षा हुने र त्यसपछि लामो समय पानी नपर्ने क्रम बढ्दै गएको छ । जलवायु परिवर्तनका कारण देखिएको यही असन्तुलित वर्षाले खेती प्रणालीलाई सबैभन्दा बढी प्रभावित गरिरहेको कृषि वैज्ञानिकहरूको निष्कर्ष छ ।

कोशी प्रदेशको संखुवासभास्थित नुम केन्द्रमा एक सातामै ३२४ दशमलव ५ मिलिमिटर वर्षा मापन भएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न केन्द्रमा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको विभागको तथ्यांक छ । यसले नदी प्रणालीमा पानीको बहाव बढाउनुका साथै पहिरो, कटान र डुबानको जोखिम पनि बढाएको छ ।

यस वर्षको मनसुनले सबैभन्दा बढी परीक्षा धान खेतीको लिने देखिएको छ । अहिले देशका अधिकांश जिल्लामा धान रोपाइँ तीव्र गतिमा भइरहेको छ । पर्याप्त वर्षाले रोपाइँ सहज बनाएको छ । तर निरन्तर वर्षा भएर खेतमा धेरै दिनसम्म पानी जमिरह्यो भने धानको जरामा अक्सिजनको कमी हुने, बिरुवाको वृद्धि रोकिने, पोषक तत्व बग्ने र उत्पादन घट्ने सम्भावना बढ्छ । त्यसैले नार्कले खेतमा आवश्यकभन्दा बढी पानी नराख्न र निकासको उचित व्यवस्था गर्न विशेष जोड दिएको छ ।

कृषि विज्ञहरूका अनुसार नेपालका अधिकांश किसान अझै पनि खेतमा जति धेरै पानी भयो उति राम्रो भन्ने परम्परागत सोचमा छन् । तर आधुनिक कृषि विज्ञानले धानबालीलाई पनि निश्चित समयभन्दा बढी पानीमा डुबाएर राख्नु उपयुक्त नहुने देखाएको छ । अत्यधिक पानीले उत्पादन बढाउने होइन, बरु रोग र कीराको संक्रमण बढाउने जोखिम हुन्छ ।

मनसुनसँगै धानमा झारपातको समस्या पनि तीव्र रूपमा बढ्ने भएकाले अहिलेको समय व्यवस्थापनका दृष्टिले महत्वपूर्ण मानिन्छ । कृषि विभागले रोपेको पाँच दिनभित्र प्रेटिलाक्लोर तथा १५ देखि २५ दिनभित्र बिस्पाइरिब्याक सोडियम प्रयोग गरेर झार नियन्त्रण गर्न सकिने जनाएको छ । तर विषादी प्रयोग गर्दा वर्षा भइरहेको, हावा चलेको वा अत्यधिक घाम लागेको बेला प्रयोग नगर्न चेतावनी दिइएको छ । वर्षायाममा विषादी प्रयोग गर्नै परे स्टिकर मिसाएर मात्र प्रयोग गर्न पनि सुझाव दिइएको छ ।

धानबालीमा गबारो कीराको जोखिम पनि मनसुनसँगै बढ्ने भएकाले कृषकलाई नियमित अनुगमन गर्न भनिएको छ । खेतमा पाँच प्रतिशतभन्दा बढी गुबो मरेको देखिए वा पातमा फुलका झुन्ड भेटिएमा मात्र व्यवस्थापन सुरु गर्नुपर्ने सिफारिस गरिएको छ । अनावश्यकरूपमा विषादी प्रयोग नगरी जैविक तथा एकीकृत कीरा व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा कृषिविज्ञहरूले जोड दिएका छन् ।

यस वर्षको मनसुनको प्रभाव धानमा मात्र सीमित नभई तरकारी, मकै, फलफूल, पशुपालन र मत्स्यपालन सबै क्षेत्रमा यसको प्रत्यक्ष असर पर्ने देखिएको छ । विशेषगरी लगातार वर्षा हुने सम्भावना भएका बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका कृषकलाई मौसमअनुसार खेती व्यवस्थापन गर्न नार्कले विशेष आग्रह गरेको छ ।

विशेषज्ञहरूका अनुसार वर्षायाममा सबैभन्दा बढी समस्या पानीको अभावले नभई पानीको निकास नहुनुले निम्त्याउँछ । खुर्सानी, गोलभेँडा, काँक्रो, फर्सी, भन्टा, सिमी र आलुजस्ता बालीमा केही दिन मात्र पानी जम्दा पनि जरा कुहिने, बोट ओइलाउने र ढुसीजन्य रोग फैलिने सम्भावना अत्यधिक हुन्छ । त्यसैले खेत, प्लास्टिक टनेल तथा बारी वरिपरि पानी बग्ने नालीको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ ।

गोलभेँडामा अगौटे र पछौटे डढुवा, खुर्सानीमा ओइलाउने रोग, काँक्रो तथा फर्सी समूहमा फल कुहिने रोग र आलुमा ढुसीजन्य संक्रमण मनसुनको समयमा तीव्ररूपमा फैलिने भएकाले रोग लागेको बोट तुरुन्त हटाउने, बोटहरूबीच हावा चल्ने वातावरण बनाउने तथा आवश्यक परे मात्र सिफारिस गरिएका विषादी प्रयोग गर्न कृषि प्राविधिकहरूले सुझाव दिएका छन् । निरन्तर एउटै विषादी प्रयोग गर्दा रोग र कीरामा प्रतिरोध क्षमता विकास हुने भएकाले आलोपालो विषादी प्रयोग गर्नुपर्ने सल्लाह पनि दिइएको छ ।

मकै खेतीमा पनि अत्यधिक वर्षाले उत्पादन घटाउन सक्छ । विशेषगरी पाक्न लागेको मकैमा लामो समय पानी जमिरहेमा जरामा अक्सिजनको कमी हुने, ढल्ने र दाना राम्रोसँग नभरिने समस्या देखिन सक्छ । त्यसैले मकै खेती भएका क्षेत्रमा पनि पानी निकासलाई प्राथमिकता दिन विज्ञहरूले सुझाव दिएका छन् ।

फलफूल बगैँचामा समेत पानी जम्दा बिरुवाको वृद्धि रोकिने, जरामा कुहिने समस्या आउने तथा फल झर्ने सम्भावना बढ्ने भएकाले बगैँचाको व्यवस्थापनमा लापरबाही नगर्न कृषकलाई आग्रह गरिएको छ ।

साभारःराजधानी दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *