खामेनीको बिदाईमा १ सयभन्दा धेरै देशका प्रतिनिधि सहभागी

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

इरानका स्वर्गीय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार बिहान हजारौं शोकाकुल नागरिक तेहरानमा भेला भएका छन् । खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मुसल्ला प्रार्थना परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । यसअघि शुक्रबार विदेशी नेता, कुटनीतिज्ञ तथा धार्मिक अगुवाहरुको सहभागितामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा चीन, रुस, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेशसहित १ सयभन्दा धेरै देशका प्रतिनिधि सहभागी भए । पाकिस्तानको नेतृत्व प्रधानमन्त्री शहवाज सरिफले गरे । पछिल्लो समय पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि मध्यस्थता गर्दै आएको छ ।

कतार, साउदी अरेबिया र युएईजस्ता पश्चिम एसियामा रहेका अमेरिकाका साझेदार देशका प्रतिनिधि पनि कार्यक्रममा सहभागी थिए ।आगामी बिहीबारसम्म खामेनीको श्रद्धान्जलीमा कार्यक्रमहरु चल्नेछन् ।  यसक्रममा उनको पार्थिव शरीरलाई इरानको कोम, इराकको नाजाफ र केरवाला लगायत स्थानमा लगेर श्रद्धान्जली सभा गरिने छ । त्यसपछि खामेनीको जन्मस्थल मसहादस्थित इमाम रेजा स्राइनमा ल्याएर ९ जुलाईमा अन्त्येष्टी गरिनेछ ।

तीन दशकभन्दा बढी समयसम्म इरानको नेतृत्व गरेका खामेनी गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलको आक्रमणमा मारिएका थिए। उक्त आक्रमणपछि क्षेत्रीय युद्ध चर्किएको थियो । तेहरानस्थित श्रद्धान्जली सभास्थलमा उपस्थित एएफपीका संवाददाताका अनुसार श्रद्धाञ्जली दिन आएका नागरिकहरूले शिया इस्लाममा प्रतिशोधको प्रतीक मानिने रातो झण्डा बोकेका थिए । कतिपय सहभागीहरुले  छाती पिट्दै ‘बदला, बदला’ को नारा लगाएका छन् ।

समारोहका एक शोक वक्ताले, ‘हामी अन्तिम बिदाइका लागि होइन, बदला लिन आएका हौं। तपाईंको रगतको बदला हामी कहिल्यै छाड्ने छैनौं,’ भन्दै भीडलाई सम्बोधन गरेका थिए । कडा सुरक्षा व्यवस्थाबीच श्रद्धाञ्जली दिन आएका धेरै सर्वसाधारण भावुक देखिएका थिए । १८ वर्षीय विद्यार्थी हमिदरेजा शबानीले एएफपीसँग भने, ‘हामी उठ्नुपर्छ र, ईश्वरको इच्छाअनुसार, आफ्ना नेताको रगतको बदला लिनुपर्छ ।’

कुरान पाठपछि इरानी राष्ट्रिय झण्डाले बेरिएको खामेनीको शवपेटिका गाढा निलो पर्दा पछाडिबाट मञ्चमा ल्याइएको थियो । अमेरिका–इजरायलको आक्रमणमा ज्यान गुमाएका उनका परिवारका सदस्यहरूको शवपेटिका पनि सँगै राखिएको थियो । मञ्चको दुवैतर्फ इरानी राष्ट्रिय झण्डाको पंक्ति सजाइएको थियो भने ग्रान्ड मुसल्लाको भित्तामा खामेनीको जीवनका विभिन्न चरण झल्काउने तस्बिरहरू राखिएका थिए ।

श्रद्धाञ्जलीमा सहभागी केही व्यक्तिले नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको तस्बिर पनि बोकेका थिए । आफ्ना पिताको उत्तराधिकारी बनेका मोज्तबा भने हालसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । समारोहस्थलमा इरान समर्थित लडाकु समूह हिजबुल्लाहको पहेंलो झण्डा पनि देखिएको थियो । क्षेत्रीय युद्ध सुरु भएयता हिजबुल्लाह दक्षिण लेबनानमा इजरायली सेनासँग लड्दै आएको छ ।

हिज्बुल्लाह इरान नेतृत्वको ‘एक्सिस अफ रेसिस्टेन्स’ पश्चिम एसियाका विभिन्न सशस्त्र समूहहरूको सञ्जालको सदस्य हो । यो सञ्जाल इजरायल र अमेरिकाको विरोधमा सक्रिय छ। तेहरानको तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि गर्मीबाट राहत दिनका लागि अधिकारीहरुले भीडमाथि पानी छर्किएका थिए  त्यस्तै, समारोहस्थल वरपर अस्थायी स्टलहरू राखेर सहभागीहरूलाई खानेकुरा र पेय पदार्थ वितरण गरिएको थियो ।

राजधानीभर लागू गरिएको सवारी आवागमन प्रतिबन्धका कारण धेरैले आफ्ना सवारीसाधन समारोहस्थलबाट केही किलोमिटर टाढा पार्क गरी बाँकी दूरी पैदल तय गरेका थिए । ८६ वर्षीय खामेनी फेब्रुअरी २८ मा तेहरानको मध्यभागस्थित आफ्नै निवासमा अमेरिका र इजरायलले युद्धको पहिलो आक्रमण सुरु गर्दा मारिएका थिए।

उक्त घटनामा खामेनीका ज्वाइँ, उनकी जेठी छोरी, १४ वर्षीया नातिनीको मृत्यु भयो । खामेनीका छोरा मोज्ताबा खामेनी भने यस घटनामा बाँच्न सफल भए । यद्यपी, मोज्ताबा पत्नी यस घटनामा परिवारका अन्य सदस्यसँगै मारिइन् । मोज्ताबा अहिले इरानको सर्वोच्च नेता छन् । तर, सुरक्षा कारणले उनी शनिबार कार्यक्रममा भने उपस्थित भएनन् । सर्वोच्च नेता बनेदेखि नै उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

१ सय दिनभन्दा लामो समयसम्म युद्ध चलेपछि गत महिना इरान–अमेरिकाबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित प्रारम्भिक सहमति भएको थियो । यद्यपि स्थायी शान्ति सम्झौताका लागि वार्ता अझै जारी छ । सहमतिपछि पनि छिटफुट रूपमा दुवै पक्षबीच गोली हानाहानका घटना भइरहेका छन् ।

कतारस्थित जर्जटाउन विश्वविद्यालयका एसोसिएट प्रोफेसर पाउल मुसग्रेभले इरानका लागि यो श्रद्धाञ्जलीसभा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै रूपमा अर्थपूर्ण रहेको बताए। ‘सार्वजनिक रूपमा शोक र एकताको प्रदर्शन हुनुले देशभित्रको ठूलो जनसमुदायमाझ सत्ताले आफ्नो वैधता स्थापित गर्न सकेको देखिन्छ। यसअघि नोभेम्बर र डिसेम्बरमा यस्तो एकता थिएन। अहिले देखिएको एकता अमेरिका र इजरायल नेतृत्वको युद्धको परिणामस्वरूप आएको हो,’ उनले भने।

मुसग्रेभले इरानबाहिर विश्वका धेरै देशका नेताहरु सहभागी हुनु अर्थपूर्ण रहेको बताए । ‘यसले यस क्षेत्रमा मात्र होइन, विश्वव्यापी रूपमा पनि इरानप्रति कुनै न कुनै प्रकारको ऐक्यबद्धता रहेको देखाउँछ,’ उनले भने।    एजेन्सी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *