किएभमा रूसी आक्रमण, ३० जनाको मृत्यु

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि स्वास्थ्य

युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या कम्तिमा ३० जना पुगेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणका कारण आंशिकरूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो सेनाले “निश्चितरूपमा” यो आक्रमणको बदला लिने बताए ।

यसैबिच युरोपियन युनियनका शीर्ष कूटनीतिज्ञले मस्कोमाथि नयाँ प्रतिबन्ध प्रस्ताव गरेका छन् भने जेलेन्स्कीले प्याट्रियट एयर-डिफेन्स मिसाइल निर्माण गर्ने इजाजत पत्रका लागि दबाब दिएका छन् । संयुक्त राष्ट्रसङ्घका प्रमुख महासचिव एन्टोनियो गुटेरेसले विनासकारी रूसीको आक्रमणको निन्दा गर्दै युद्धविरामको आह्वान गरेका छन् ।

नागरिक र नागरिक पूर्वाधारमाथि आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट उल्लङ्घन भन्दै उनले यसलाई तुरुन्त रोक्नुपर्ने बताएको उनका प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गरेका छन् । यद्यपी क्रेमलिनले आफ्नो कुनै सम्झौता नगर्ने दावी गर्दै किएभमाथि “दबाब” बढाउने प्रतिवद्धता गरेको छ ।

शहरको केन्द्रमा रहेका आवासीय क्षेत्रमा रूसी क्षेप्यास्त्र तथा ड्रोनको वर्षापछि विस्फोटको प्रतिध्वनि हुन थालेको जनाइएको छ । मेयर भिटाली क्लिट्स्कोले यसलाई “राजधानीमा रूसको सबैभन्दा ठुलो आक्रमण” भनेर वर्णन गरेका छन्  । युक्रेनको राज्य आपतकालीन सेवाले  आक्रमणमा ३० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

शहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले ९१ जना घाइते भएको बताए । रेडक्रसको युक्रेनी शाखाले उसको मुख्य गोदाम नष्ट भएको र करिब २० लाख डलरको मानवीय सहायता गुमेएको जनाएकाे छ। आक्रमणले कूटनीतिज्ञ बस्ने भवनलाई पनि क्षति पुगेको बताउदै ईयूकी प्रवक्ता अनिट्टा हिप्परले कूटनीतिज्ञ भने सुरक्षित रहेको उल्लेख गरेकि छन् ।

क्रिवी रिगमा, मिसाइलले प्रहार गर्दा दुई जना घाइते भएको केन्द्रीय शहरको सैन्य प्रशासनका प्रमुखले बताएका छन् । किएभले आफ्ना सहयोगीलाई थप हवाई सुरक्षा पठाउन आग्रह गरेको छ । युक्रेनले अमेरिकामा निर्मित “मिसाइल इन्टरसेप्टर” प्रणालीका लागि हतियार उत्पादन गर्न चाहन्छ, तर रक्षा विज्ञले घरेलुरूपमा उत्पादन स्थापना गर्न समय लाग्ने बताएका छन् ।

युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले आक्रमणलाई लिएर मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव गर्ने बताएका छन् । आसन्न रुसी हमलाको गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै जेलेन्स्कीले बुधबार डब्लिनको भ्रमण गरेपछि यो आक्रमण भएको हो । जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेझै “केही समयदेखि युक्रेनविरुद्ध ठुलो आक्रमणको तयारी गरिरहेको” बताए । एएफपी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *