देशभर असारे वर्षा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

फैलिएको मनसुनी प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा असारे वर्षा भएको छ । मङ्गलबारदेखि सुरु भएको वर्षाको क्रम अर्को साताको मध्यसम्म कायम रहने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

झरी परेसँगै रोपाइँमा लागेका किसानमा हर्ष छाएको छ । देशभरिका खेतबारीमा पानी पुग्दा रोपाइँ सहज भएको महसुस किसान वर्गले गरेका छन् । किसानका खेत र आलीमा झरीसँगै रोपाहार पनि रमाएका छन् । विचरणमा ढिला गर्दै दुई दिनअघि मात्र देशका सबै भूभागमा पूर्ण रूपमा मनसुन फैलिएको हो । असार ५ गते नेपाल भित्रिएको मनसुन देशव्यापी फैलन १२ दिन लगाएको छ । यो वर्ष सरदर मितिभन्दा छ दिन ढिला गरी मनसुन नेपाल भित्रिएको थियो । ढिलै आए पनि धान रोप्ने समयमा वर्षा हुँदा खुसीको माहोल थपिएको हो ।

देशव्यापी रूपमा फैलिएसँगै नेपालबाट पश्चिमी वायु पूर्ण रूपमा विस्थापित भएको छ भने देशका विभिन्न भूभागमा अधिक वर्षा रेकर्ड भएको छ । बिहीबार अपराह्नसम्म कपिलवस्तुको वाणगङ्गा क्षेत्रमा अधिक वर्षाका रूपमा ११८.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । त्यसअघि बुधबार कञ्चनपुरमा १७८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । मङ्गलबार बर्दियाको मानपुरमा ९५.५ मिलिमिटर वर्षा भएको पाइएको छ । सोमबार झापाको भोर्लेटारमा १२२.२ मिलिमिटर अधिक वर्षा रेकर्ड भएको विभागको जलवायु विश्लेषण शाखाले जनाएको छ ।

शनिबारसम्म देशव्यापी रूपमा मध्यम वर्षाको क्रम बढी रहने भएको छ । एक/दुई स्थानमा भने अधिक वर्षा हुने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए  । जसमध्ये शुक्रबार कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको छ । शनिबार बागमती, गण्डकी र सुदूरपश्चिमका केही भूभागमा अधिक वर्षा र अन्यत्र मध्यम वर्षाको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *