साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी नगरपालिका अन्तर्गतका विभिन्न क्षेत्रलाई समेट्दै साझाले मङ्गलबारदेखि यस रुटमा बस सेवा सुरु गरेको हो।
नयाँ रुट अनुसार अब साझा बस दैनिक बिहान ६ बजे युनाइटेड कोलोनीबाट छुट्ने छ । लुभुबाट जमल आउँदा बस लुभु–यती चोक, चाङ्गाथली क्लब, निलो पुल, वडा नं. ५ कार्यालय टीकाथली, चारदोबाटो, पवन प्रकृति स्कुल, इमाडोल कृष्ण मन्दिर, ग्वार्को, सातदोबाटो, लगनखेल र त्रिपुरेश्वर हुँदै आरएनएसी र जमलसम्म पुग्ने छ।
यसैगरी जमलबाट फर्कंदा सो बस जमल, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, लगनखेल, सातदोबाटो, इमाडोल कृष्ण मन्दिर, पवन प्रकृति स्कुल, चारदोबाटो, ग्वार्को, वडा नं. ५ कार्यालय टीकाथली, निलो पुल, चाङ्गाथली क्लब र यती चोक हुँदै पुनः लुभु पुग्ने साझा यातायातले जनाएको छ।
यो रुटमा सञ्चालन हुने साझा बसको शुभारम्भ महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले गरे । उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बाबुराजा महर्जन, वडा नम्बर ५ र ३ का वडाध्यक्ष क्रमश कपिल केसी र कुशेर केसीलगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति थियो ।
ललितपुर र काठमाडौँका मुख्य मुख्य प्रशासनिक तथा व्यापारिक केन्द्रलाई जोड्ने गरी सुरु गरिएको यो सेवाबाट लुभु, चाङ्गाथली, टीकाथली र इमाडोल क्षेत्रका स्थानीय बासिन्दा तथा दैनिक यात्रुलाई आवतजावतमा ठुलो सहजता पुग्ने अपेक्षा गरिएको छ।
