एसियामा अत्यधिक गर्मी : हिमनदी पग्लिने क्रम जारी, समुद्रमा अत्यधिक तापक्रम

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सन् २०२५ मा एसियाभर बढ्दो तापक्रम, विनाशकारी वर्षा, बाढी, खडेरी तथा हिमनदी पग्लिने घटनाले करोडौं मानिसको जीवन प्रभावित भएको र यसको आर्थिक तथा मानवीय क्षति निकै गम्भीर रहेको विश्व मौसम संगठन (डब्लुएमओ) ले जनाएको छ।

हालै भुटानको पारोबाट सार्वजनिक गरिएको ‘स्टेट अफ द क्लाइमेट इन एसिया–२०२५’ नामक प्रतिवेदनमा जलवायु परिवर्तनका कारण विश्व औसतभन्दा एसिया तीव्र गतिमा तातिरहेको उल्लेख गर्दै चरम मौसमी घटनाबाट हुने क्षति न्यूनीकरण गर्न प्रभावकारी प्रारम्भिक चेतावनी प्रणाली अपरिहार्य भएको बताइएको छ।

प्रतिवेदनका अनुसार सन् १९९० को दशकयता निरन्तर बढिरहेको समुद्रको तापक्रम सन् २०२५ मा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। जुलाईदेखि सेप्टेम्बरसम्म एसियाको करिब सम्पूर्ण समुद्री क्षेत्रमा सामुद्रिक तापलहर (मरीन हिटवेभ) फैलिएको थियो। यस अवधिमा एक करोड वर्ग किलोमिटरभन्दा बढी समुद्री क्षेत्र प्रभावित भएको थियो, जुन चीन वा संयुक्त राज्य अमेरिकाको क्षेत्रफलभन्दा पनि ठूलो हो। महासागरको तापक्रम वृद्धि र समुद्री पानीको अम्लीकरणले समुद्री जैविक प्रणाली तथा तटीय समुदायमा थप जोखिम सिर्जना गरिरहेको प्रतिवेदनले जनाएको छ।

प्रतिवेदनले सन् २०२५ मा एसियाका उच्च हिमाली क्षेत्रका सबै २३ वटा निगरानी गरिएका हिमनदीले हिउँको मात्रा गुमाएको जनाएको छ। औसतभन्दा बढी तापक्रम र औसतभन्दा कम हिमपातका कारण हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्। यसले विश्वकै सबैभन्दा बढी जनसंख्या रहेको क्षेत्रमा दीर्घकालीन जलसुरक्षामाथि खतरा बढाउनुका साथै हिमताल विस्फोट (ग्लेसियल लेक आउटबर्स्ट फ्लड) र हिमनदी भासिने घटनाको जोखिमसमेत बढाएको प्रतिवेदनमा उल्लेख छ।

डब्लुएमओका अनुसार पछिल्ला केही दशकयता विश्व औसतभन्दा एसिया महादेश छिटो तातिरहेको छ। सन् १९९१ देखि २०२५ सम्मको तापक्रम वृद्धि सन् १९६१–१९९० को तुलनामा झन्डै दोब्बर रहेको छ। उपलब्ध तथ्यांकअनुसार सन् २०२५ एसियाको इतिहासकै दोस्रोदेखि चौथो सबैभन्दा तातो वर्ष बनेको छ।

गत वर्ष अत्यधिक गर्मी एसियाको प्रमुख जलवायु विशेषता बनेको थियो। जापान, चीन र दक्षिण कोरियाले इतिहासकै सबैभन्दा तातो गर्मीयाम अनुभव गरेका थिए भने मध्य एसिया, पश्चिम एसिया र अरब प्रायद्वीपका धेरै क्षेत्रमा लामो समयसम्म तातोलहर चलेको थियो।

काजाकिस्तानमा केही महिनासम्म तापक्रम सामान्यभन्दा १४ डिग्री सेल्सियससम्म बढी पुगेको थियो भने बहराइनमा लगातार १० दिनसम्म तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि कायम रह्यो। तातो, सुख्खा र हावाहुरीयुक्त मौसमका कारण दक्षिण कोरियामा इतिहासकै सबैभन्दा ठूलो डढेलो लागेको प्रतिवेदनले जनाएको छ।

अर्कोतर्फ, गत वर्ष दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसतभन्दा बढी वर्षा भएको थियो। विशेषगरी मनसुनका कारण पाकिस्तानमा आएको बाढीमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको र ३० लाखभन्दा बढी मानिसलाई राहत आवश्यक परेको प्रतिवेदनमा उल्लेख छ।

भियतनाममा विभिन्न मौसमी प्रणालीका कारण लामो समयसम्म आएको बाढीमा कम्तीमा २०० जनाको मृत्यु भएको तथा करिब १ अर्ब ९० करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति पुगेको थियो। दक्षिणपूर्वी एसियामा आएको ‘साइक्लोन सेन्यार’ ले थाइल्यान्ड, मलेसिया र इन्डोनेसियाका विभिन्न क्षेत्रमा असाधारण वर्षा र बाढी निम्त्याएको थियो।

यसैबीच, पश्चिमी तथा मध्य एसियाका धेरै भागमा भने औसतभन्दा कम वर्षा भयो। इरानमा लामो समयदेखिको खडेरीका कारण गम्भीर पानी अभाव सिर्जना भएको प्रतिवेदनले जनाएको छ। अप्रिल महिनामा पश्चिम एसियाका धेरै क्षेत्रमा आएको शक्तिशाली धुलो तथा बालुवाको आँधीले यातायात, जनस्वास्थ्य र आर्थिक गतिविधिमा ठूलो असर पारेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनले समुद्री सतह पनि सन् १९९९ मा उपग्रह अभिलेख सुरु भएयताकै उच्च स्तरमा पुगेको जनाएको छ। उत्तरी हिन्द महासागरका अधिकांश तटीय क्षेत्रमा समुद्री सतह वृद्धि विश्व औसतभन्दा धेरै रहेको छ। साथै अरब सागर, बंगालको खाडी र उष्णकटिबन्धीय हिन्द महासागरका केही क्षेत्रमा समुद्री पानीको अम्लीयपन इतिहासकै न्यून स्तरमा पुगेको छ। विश्वकै सबैभन्दा ठूलो आन्तरिक जलाशय क्यास्पियन सागरको जलस्तर पनि निरन्तर घटिरहेको प्रतिवेदनले औँल्याएको छ।

डब्लुएमओकी महासचिव सेलेस्टे साउलोले बढ्दो तापक्रम, तातिँदो महासागर, बढ्दो समुद्री सतह र पग्लिरहेका हिमनदीका कारण एसिया गम्भीर जलवायु संकटको सामना गरिरहेको बताएकी छन्। उनिले अत्यधिक वर्षा, बाढी, खडेरी, धुलोका आँधी र हिमताल विस्फोटजस्ता जोखिम बढ्दै गएको उल्लेख गर्दै प्रभावमा आधारित मौसम पूर्वानुमान, अवलोकन प्रणाली र प्रारम्भिक चेतावनी सेवामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याइन्।

संयुक्त राष्ट्रसंघअन्तर्गतको एसिया तथा प्रशान्तका लागि आर्थिक तथा सामाजिक आयोग (ईएसक्याप) की कार्यकारी सचिव आर्मिडा साल्सियाह अलिसजाहबानाले पनि बढ्दो गर्मीले खाद्य प्रणाली, सार्वजनिक स्वास्थ्य, पूर्वाधार र जीविकोपार्जनमा बहुआयामिक जोखिम सिर्जना गरिरहेको बताइन्। समयमै चेतावनी, विश्वसनीय सूचना र जोखिममा रहेका समुदायसम्म प्रभावकारी रूपमा सूचना पुर्‍याउन सके धेरैको ज्यान जोगाउन सकिने उनिको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *