अधिकांश अमेरिकीहरूले इरान मामिलामा राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेका कदमहरूबारे असन्तुष्टी व्यक्त गरेको नयाँ सर्वेक्षणले देखाएको छ ।
एशोसिएट प्रेस (एपी) ले सेन्टर फर पब्लिक अफेयर्स रिसर्च (एनओआरसी)सँग मिलेर गरेको सर्वेक्षणमा सहभागि ६५ प्रतिशत वयस्क अमेरिकीहरुले इरान मामिलामा ट्रम्पले चालेका कदमप्रति असहमति प्रकट गरे ।
असन्तुष्ट हुनेमध्ये ठूलो संख्या डेमोक्रेटिक पार्टीको छ । ट्रम्पकै रिपब्लिक पार्टीका २८ प्रतिशतले पनि इरानमा उनको कार्यशैलीले कदमहरुले असन्तुष्ट बनाएको बताएका छन् ।
नयाँ सर्वेक्षण जुन ११–१७ मा गरिएको थियो । यही अवधिमा ट्रम्पले इरानसँगको सम्झौतामा सहमति जुटेको घोषणा गरेका थिए । त्यस्तै, हर्मुज जलमार्गमा अमेरिकी सैन्य नाकाबन्दी अन्त्य गर्न अनुमति दिइएको बताएका थिए ।
त्यसपछि गत बुधबार दुबै पक्षले शान्ति सम्झौतामा हस्ताक्षर गरे । विगत केही महिनाहरूमा इरानमा ट्रम्पको कार्यशैलीलाई लिएर अमेरिकीहरुले आपत्ति जनाउँदै आएका छन् ।
केही रिपब्लिकनहरूले यस हप्ता भएको सम्झौताको परिणामप्रति पनि असन्तुष्टि जनाइरहेका छन् । यस सम्झौताले इरानलाई पुनः स्वतन्त्र रूपमा आफ्नो तेल बिक्री गर्न अनुमति दिएको छ ।
त्यस्तै, दुई महिनाका लागि बिना कुनै शुल्क हर्मुज जलमार्गलाई खुला गरिने उल्लेख छ । यस सम्झौतामा तेहरानको आणविक कार्यक्रमका विषयमा अमेरिका र इरानबीच आगामी चरणमा वार्ताहरु हुने उल्लेख छन् ।
तेहरानले उच्च स्तरको संवर्धित युरेनियमको भण्डारण घटाउने प्रतिवद्धता व्यक्त गरेको छ । ट्रम्पको रिपब्लिकन पार्टीप्रति झुकाव राख्ने टेक्ससस्थित फोर्ट वर्थका ७९ वर्षीय स्वतन्त्र नागरिक डेभिड फेरिङ्टनले इरानको आणविक हतियार कार्यक्रमबारे ठोस विषय यस सम्झौतामा उल्लेख नहुनु दुखद् रहेको बताए ।
‘हर्मुज जलमार्गसम्बन्धी कुनै पनि सम्झौतालाई म इरानको तर्फबाट भएको ठूलो वा उल्लेखनीय सम्झौता मान्न सक्दिनँ,’ म यसलाई केवल एक देखावटी कुरा मान्छु ,’ फेरिङ्टनले भने,’ यो सम्झौता जति खराब छ । त्यसभन्दा कम खराब देखाउनका लागि यस्ता प्रावधान राखिएको छ ।’
नयाँ सर्वेक्षण अनुसार केवल एक–तिहाइ अमेरिकी वयस्कहरूले मात्र इरान मामिलामा ट्रम्पको कार्यशैलीलाई अनुमोदन गरेका छन्, मे महिनामा एपी–एनओआरसीले गरेको सर्वेक्षणमा पनि यस्तै देखिएको थियो ।
टेक्ससको प्लानोका २८ वर्षीय स्वतन्त्र नागरिक डोनाल्ड म्याकब्राइडले अमेरिकालाई विदेशी युद्धहरूबाट टाढा राख्ने आफ्नो चुनावी प्रतिज्ञा पूरा गर्न ट्रम्प असफल भएको बताए ।
‘उनले युद्ध गर्दैनन् भन्ने लागेर मैले मत दिएको थिएँ, ‘ म्याकब्राइडले भने, ‘ म यो युद्ध अन्त्य भएको चाहन्छु । युद्धको मूल उद्देश्य इरानी शासनलाई समाप्त गर्नु थियो, जुन सम्भव नै छैन । हामीले लडाइँ जारी राख्नुको औचित्य पिन थाहा छैन ।’
यस सर्वेक्षणमा सहभागी अधिकांश अमेरिकीहरूले इरान युद्ध चाडैं टुंगिएको हेर्न चाहेको बताएका थिए । ५३% अमेरिकी वयस्कहरूले इरान युद्धमा अमेरिकाले अति नै गरिसकेको बताए । आक्रमण ठिकै रहेको बताए । त्यसमध्ये ३७ प्रतिशत रिपब्लिकनले आक्रमण अझै पर्याप्त नभएको दाबी गरे ।
उत्तर–पश्चिम फ्लोरिडाकी ६४ वर्षीया स्वतन्त्र नागरिक जोन जोन्सले इरानको खतरालाई सम्बोधन गर्न अमेरिकी कारबाही आवश्यक रहेको बताएकी थिइन् ।
‘ती आक्रमणहरू अन्ततः हामीलाई आणविक आक्रमणबाट जोगाउनका लागि हुन्,’ जोन्सले भनिन्, ‘मलाई लाग्छ हामीले यस प्रक्रियाबाट गुज्रिनै पर्छ र त्यो चिन्तालाई हटाउनुपर्छ ताकि हाम्रो टाउकोमाथि सधैं त्यो डर मडारिइरहने छैन।’
सर्वेक्षणमा सहभागी करिब एक–तिहाइ, अर्थात् ३४% अमेरिकी वयस्कहरूले मात्र इजरायल मामिलामा ट्रम्पको कार्यशैलीलाई अनुमोदन गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र ट्रम्पबीच तनाव बढ्दै गएको छ, किनकि राष्ट्रपति ट्रम्पले लेबनानमा हालै भएका इजरायली आक्रमणहरूको आलोचना गरिरहेका छन् ।
यी आक्रमणले इरान–अमेरिका वार्तालाई प्रभावित गर्नेतर्फ ट्रम्प सतर्क देखिएका छन् । गत बुधबार १४ बुँदे सम्झौता गरेका अमेरिका र इरानले यी बुँदाहरुको कार्यान्वयन सुनिश्चित गर्ने र थप वार्ताहरू गरेर ६० दिनभित्र बिस्तृत शान्ति सम्झौता गर्ने लक्ष्य राखेका छन् ।
ओहायोको मेडवेका ६९ वर्षीय रिपब्लिकन जेम्स हफम्यानले नेतान्याहूसँग ट्रम्पले गलत रणनीति अपनाइरहेको बताए ।
‘नेतान्याहुले ट्रम्पले चाहेका सबै कुरा गर्नेवाला छैनन् । उनले त्यही गर्नेछन् जुन उनी आफैं चाहन्छन्,’ हफम्यानले भने,’मलाई यो रणनीति प्रभावकारी लाग्दैन।’
करिब एक–तिहाइ अमेरिकी वयस्कहरूले अर्थव्यवस्थाप्रति ट्रम्पको दृष्टिकोण सही रहेको बताएका छन् । फ्लोरिडाकी जोन जोन्सले आफ्नो क्षेत्रमा स्टारबक्स र म्याडोनाल्डजस्ता रेस्टुराँमा भीड रहेको बताइन् । यसले अर्थतन्त्र राम्रै चलिरहेको संकेत गरेको उनले बताइन् । वेस्ट भर्जिनियाकी ४२ वर्षीया रिपब्लिकन समर्थक पेट्रिसिया बेलीले महँगी नियन्त्रणबाहिर गएको बताइन् । ‘आफ्नो आर्थिक प्रतिज्ञाहरु नै भुलेर ट्रम्प युद्धमा अल्झिए । त्यसको मूल्य सर्वसाधारणले चुकाइरहेका छन्,’ उनले भनिन् ।
