अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाका विभिन्न संरचनामा क्षति पुगेको छ । बिहीबार राति परेको वर्षापछि हिलिहाङ गाउँपालिका–५ स्थित सुभाङ खोलामा आएको बाढीले तमोर करिडोर सडक खण्डमा एपेक्स कम्पनीले बालुवा–गिटी सञ्चालनका लागि राखेको क्रसरका सम्पूर्ण सामग्री बगाएको जिल्ला प्रशासन कार्यालयले पाँचथरले जनाएको छ ।
त्यसैगरी, बाढी–पहिरोको जोखिम बढेपछि हिलिहाङ गाउँपालिका–५ का आठ वटा घर उच्च जोखिममा परेका छन् । जोखिमकै कारण स्थानीय सर्णकुमार केरुङको परिवारका पाँच जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिए ।
बाढीका कारण हिलिहाङ–५ मा रहेको सिजेनफुङ खानेपानी आयोजना, पदालुङ अलैँची तथा कृषि फार्मको खानेपानी आयोजना र एक व्यक्तिगत खानेपानी पाइप गरी तीन वटा खानेपानी आयोजनाको मुहान तथा पाइपमा क्षति पुगेको छ ।

यस्तै, अमले सिरान सिँचाइ कुलो तथा सिजेनफुङ आम्बोटे सिँचाइ कुलोको मुहान र कुलोमा समेत क्षति पुगेको जनाइएको छ । उता, हिलिहाङ गाउँपालिका–४ निवासी विष्णुप्रसाद चापागाईले पालेका ६९ वटा लोकल कुखुरा बाढीले बगाएको प्रहरीले जनाएको छ ।
हालसम्म मानवीय क्षति नभएको तथा थप क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिए ।

