८१ प्रतिशतभन्दा बढी साइबर अपराध फेसबुकबाट

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य
नेपालमा ८१ प्रतिशतभन्दा बढी अनलाइन घटना (साइबर हिंसा तथा अपराध) सामाजिक सञ्जाल फेसबुकबाट भइरहेको पाइएको छ। आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिकामध्ये २५३ बालक र ३८२ बालिका रहेका छन्। यस्तै अनलाइन हिंसा तथा अपराधमा महिला आठ हजार ७४५ जना महिला प्रभावित भएको तथ्याङ्क छ।

सुरक्षित इन्टरनेट दिवस, २०२५ को सन्दर्भमा भ्वाइस अफ चिल्ड्रेन र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन (आइवर्ट) द्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अनलाइन हिंसाबाट प्रभावित महिला र बालबालिकाको तथ्याङ्क सार्वजनिक गरिएको हो।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगमा महिला र किशोरीमाथि हुने विभिन्न हिंसालगायत अनलाइन हिंसाको उजुरी आउने गरेको र आयोगले साइबर ब्यूरोसँग समन्वय गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने गरिएको जानकारी दिइन्।

उनले प्रविधिको सहयोगमा धेरै राम्रा, उत्पादनमुलक र सूचनामुलक जानकारी हासिल हुने गरे पनि यसको दुरुपयोग हुँदा धेरै नै दुःख, बदनामी खप्नुपर्ने अवस्था भएकोले सुरक्षित इन्टनरनेटको प्रयोग सम्बन्धी सचेनामूलक कार्यक्रम विद्यालय र समुदायस्तरमा समेत निरन्तर सञ्चालन गर्नुपर्ने बताइन्।

राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको सिकारमा धेरै  बालबालिका परिरहेको बताउँदै अहिलेको जमानामा इन्टरनेटको प्रयोग नै नगर भन्न नसकिने र इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिकालगायत सबैले सिक्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रविधिको दुरुपयोगले समाजका सबै उमेर, वर्ग र पेशा व्यवसायका व्यक्तिहरुलगायत पत्रकार समेत अनलाइन  हिंसामा परेको सन्दर्भमा रहेको उल्लेख गरिन ।

बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था भ्वाइस अफ चिल्ड्रेनले जर्मन सहयोगमा सन् २०२३ मा कोशी र बामती प्रदेशका ५१४ जना बालबालिका र सम्बन्धित परिवारसँग गरिएको सर्वेक्षणले पनि साइबर अपराधको जालोमा बालबालिका परिरहेको तथ्याङ्क देखाएको छ।

सो सर्वेक्षणमा १३ देखि १८ वर्ष उमेर समूहका ९७ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचमा रहेका देखाएको छ। जसमध्ये ३८.६० प्रतिशत बालिकालाई र ३२.३० प्रतिशत बालकले सामाजिक सञ्जालबाट  यौनजन्य सन्देश आएको, ३४ प्रतिसतले  अश्लील फोटो र अन्य दुव्र्यवहार हुने भिडियो आउने गरेको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *