हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने कान्ति लोकपथमा पहिरोको सधैं जोखिम हुने गरेको छ । ४५ दिनयता पहिरोका कारण लोकपथ ८ पटक अवरुद्ध भइसकेको छ । सामान्य वर्षामै पहिरो खस्ने समस्याले सडक अवरुद्ध हुने गरेको छ ।
सुक्खा पहिरोले समेत घन्टौंसम्म लोकपथ बन्द हुने गरेको छ । वैशाखदेखि जेठ १५ सम्म ८ पटक लोकपथमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी नायब निरीक्षक प्रमोदप्रसाद साह तेलीले बताए । यो अवधिमा वर्षाका कारणले माथिबाट पहिरो गएर ५ पटक र सुक्खा पहिराले ३ पटक कान्ति लोकपथ अवरुद्ध भएको उनले बताए । मुख्यगरी मकवानपुरतर्फको ठिंगनदेखि बागमती पुलसम्मको खण्ड अत्यन्त जोखिम रहेको उनले बताए । भीमफेदी गाउँपालिका-८ भर्याङङाँडा, गगटे, बकैया गाउँपालिकाको घट्टेपाखा र लेनडाँडा क्षेत्रमा पहिरोले यातायात अवरुद्ध हुने गरेको छ ।
भर्याङडाँडामा जेठ १३ गते सुक्खा पहिरो खस्दा हेटौंडाबाट काठमाडौंतर्फ गइरहेको मोटरसाइकल दुर्घटना भएको थियो । जेठ १५ गते बागमती खोलाको बाढीले निर्माणाधीन पुलको सामान बगाएको थियो । बाढीले पुरानो पुलको पहुँचमार्ग पनि बगाएको थियो । पहाडी भागमा रहेको सडकको माथिल्लो भाग अत्यन्त खुकुलो माटो र ग्रेगान भएकाले पहिरोको जोखिम रहेको कान्ति लोकपथ आयोजनाका सूचना अधिकारी उपेन्द्र महरानले बताए । जोखिमयुक्त खण्डमा पहिरोको रोकथामका लागि अध्ययन भइरहेको उनले बताए ।
७ दशक बित्न लाग्दासमेत कान्ति लोकपथको निर्माण कार्य अझै पूरा हुन सकेको छैन । काठमाडौं–वीरगन्ज जोड्ने त्रिभुवन राजपथको विकल्पका रुपमा विसं २०१३ सालबाट राजा महेन्द्रले लोकपथ निर्माण सुरु गरेका थिए । यो लोकपथलाई काठमाडौं–हेटाैंडा जोड्ने छोटो दुरीको वैकल्पिक मार्गको रुपमा लिने गरिन्छ ।
७९ किलोमिटर लम्बाइ रहेको मुलुककै पुराना सडक आयोजनामध्येको उक्त लोकपथको निर्माण ७ दशकमा ७१ प्रतिशत सम्पन्न भएको छ । नेपाली सेनाले २०१३ सालदेखि २०१६ सम्म यसको ट्रयाक खोलेर निर्माण सुरु गरेको थियो ।
आयोजनाका सूचना अधिकारी महरानले आयोजनाको करिब तीन तिहाइ काम भइसकेको बताए । बजेटको अभाव तथा प्राकृतिक कारण आयोजना सम्पन्न हुन ढिलाइ भएको बताए । विसं २०१३ देखि लोकपथको ट्रयाक खोल्ने कार्य सुरु गरेको भए पनि २०६४/०६५ देखि नेपाल सरकारले प्राथमिकतामा राखेर निर्माण सुरु गरेको सूचना अधिकारी महरान बताउछन् । उनले भने, ‘०६४/०६५ देखि अहिलेसम्म उक्त लोकपथको निर्माणका ८ अर्ब ४० करोड रुपैयाँ लगानी भइसकेको छ ।’
आगामी आर्थिक वर्ष ०८३/८४ सम्म सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ । ७९ किलोमिटर लम्बाइ रहेको यो लोकपथको अब साढे चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । कालोपत्र बाँकी रहेको ठाउँमा अहिले एक लेनको सडक छ । चट्टान काटेर उक्त स्थानमा दुई लेनमा स्तरोन्नति गर्नु पर्छ ।
दुरी कम भए पनि भौगोलिक कठिनाइका कारण काम सम्पन्न गर्न समय लागेको सूचना अधिकारी महरानले बताए । चालु आवका लागि ठेक्काको कुल दायित्व १ अर्ब ५० करोड रहेको छ । चालु ठेक्काको विनियोजन रकम ४७ करोडमात्र रहेको थियाे । उक्त लोकपथको रेटिङवाल, कटिङ, ढल र कालोपत्र गर्नका लागि ८ वटा ठेक्का लगाइएको छ । सबै ठेक्कामा निर्माण कम्पनीहरुले धमाधम काम गरिरहेका छन् ।
काठमाडौंतिरबाट लोकपथको शून्य किलोमिटर ललितपुरको टीकाभैरव रहेको छ भने हेटौंडाबाट यसको शून्य किलोमिटर हेटौंडाको बुद्धचोक रहेको छ । टीकाभैरवदेखि बुद्धचोकसम्म कुल ७९ किलोमिटर लम्बाइ छ ।
हेटौंडाको बुद्धचोकदेखि टीकाभैरवसम्मको सडक कान्तिलोक पथ सडक योजनाले हेर्ने गर्छ भने ललितपुरको टीकाभैरवदेखि सातदोबाटोसम्मको १० किलोमिटर सडक उपत्यका सडक विस्तार आयोजनाले हेर्ने गर्छ । गत आर्थिक वर्षदेखि यस सडकको डिजाइन परिवर्तन गरी टीकाभैरवदेखि ललितपुरको एकान्तकुनासम्म गरिएको छ । यस सडकमध्ये ललितपुरमा ३९ किलोमिटर र मकवानपुरमा ४० किलोमिटर पर्छ ।
नेपाली सेनाले सडक निर्माणको थालनी कान्तिलोक पथबाट सुरु गरेको हो । सेनाले अहिले तीन दर्जनभन्दा बढी सडकमार्ग निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ । पछिल्लो समयमा सेनाले काठमाडौं-निजगढ फाष्टट्रयाक (द्रुतमार्ग) निर्माणको जिम्मेवारी पनि लिएको छ ।
