महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले चारलाख १५ हजाररुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।आज पर्साको ठोरीबाट प्रहरीले नियन्त्रणमा लिई अदालतमा पेस गरेपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले नगरप्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकका अनुसार नगरप्रमुख सिंहसँग लिखत सम्बन्धी कसुर मुद्दामा चारलाख रुपियाँ तथा झुट्टा विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा १५ हजार रुपियाँ धरौटी माग गरिएको हो ।
नगरप्रमुख सिंहका तर्फबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाई, अधिवक्ता कमलमोहन पोखरेल र प्रमोद साहले बहस गरे भने जाहेरवालाका तर्फबाट अधिवक्ता चन्द्रिका पटेल लगायतका कानुन व्यवसायीले बहस गरेका थिए । यसैगरी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता मनोजकुमार गुप्ताले बहस गरे ।
वीरगञ्जका स्थानीय लियाकत अलीको जाहेरीका आधारमा नेपाल सरकारवादी रहेको उक्त मुद्दा अदालतमा दर्ता भएको हो । नगरप्रमुख सिंहमाथि झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा लिखत किर्ते गरेको आरोप लगाइएको छ । उक्त मुद्दामा नगरप्रमुख सिंहसँगै उनकी कान्छी पत्नी रिता भट्टराई तथा वीरगञ्ज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायलाई पनि प्रतिवादी बनाइएको छ ।
प्रहरीका अनुसार नगरप्रमुख सिंहविरुद्ध लिखत किर्तेसम्बन्धी मुद्दामा अदालतको आदेशानुसार गत जेठ ८ गते पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसपछि नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि जेठ १२ गते पुनः पक्राउ पुर्जी जारी गरिएको थियो । उक्त मुद्दाको अनुसन्धान तथा कानुनी प्रक्रिया चलिरहेकै अवस्थामा अदालतको आदेशपछि नगरप्रमुख सिंह धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
