बिचौलिया दीपक भट्ट र शंकर ग्रुपले गरेका आर्थिक अपचलनबारे सरकारी निकायहरूले अनुसन्धान टुंग्याएका छन् । उनीहरूविरुद्ध पाँचवटा मुद्दा दायर गर्न रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय पुगेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट एउटा तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट चार मुद्दा दायर गर्न सिफारिस भएको हो ।
सिआइबीले धितोपत्र कसुर, बिमा कसुर तथा बैंकिङ कसुरमा अनुसन्धान सकाएको छ । धितोपत्रको कसुरमा दुईवटा छुट्टाछुट्टै मुद्दा दायर गर्न सिफारिस गरिएको छ । सिआइबीले बैंकिङ कसुरमा भट्ट र शंकर ग्रुपले हिमालयन बैंकबाट लिएको ५४ करोड रुपैयाँ दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । शंकर ग्रुपको जगदम्बा स्टिल्सले हिमालयन बैंकबाट लिएको कर्जा मिलेमतोमा दुरुपयोग गरी भट्टले प्रयोग गरेका थिए । ऋणमध्ये करिब ५४ करोड रुपैयाँ कम्पनीबाट भट्टको व्यक्तिगत खातामा लगेर दुरुपयोग भएको थियो । नेपाल राष्ट्र बैंकबाट समेत विज्ञ झिकाएर यसमा सिआइबीले अनुसन्धान गरेको थियो । कर्जाको उद्देश्यविपरीत प्रयोग गरेपछि बैंकिङ कसुरमा मुद्दा दायर गर्न लागिएको हो ।
विज्ञहरूको सहयोगमा अनुसन्धान सकेर प्रतिवेदन बुझाइएको सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए । दुई वर्षअघि नै राष्ट्र बैंकको छानबिनमा यो तथ्य खुलिसकेको थियो । तर, तत्कालीन सरकारको संरक्षणका कारण अनुसन्धान हुन सकेको थिएन ।
धितोपत्रको कसुरमा १० कम्पनीको संलग्नता
भट्ट र शंकर ग्रुपको मिलेमतोमा भएको धितोपत्रसम्बन्धी कसुरमा १० कम्पनी र त्यसमा आबद्ध ७० भन्दा धेरै व्यक्तिको मिलेमतो रहेको निष्कर्ष सिआइबीको छ । हिमालयन रि–इन्स्योरेन्स र यसका सहायक कम्पनीहरूको संलग्नता रहेको सिआइबीले जनाएको छ । यसमा हिमालयन रिसहित नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटी बैंकर लिमिटेड, हिमालयन क्यापसर्भ लिमिटेड, हिमालयन इन्भेष्टमेन्ट बैंक लिमिटेड, क्रेस्ट माइक्रो इन्स्योरेन्स, प्रोएक्टिभ माइक्रो इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, गार्जियन माइक्रो लाइफ र भृकुटी स्टक ब्रोकर कम्पनीको मिलेमतो रहेको धितोपत्र बोर्ड र सिआइबीको निष्कर्ष छ ।
सिआइबीले धितोपत्र बोर्डका विज्ञसँग मिलेर यसको अनुसन्धान गरेको थियो । जसमा हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, बिचौलिया भट्ट, शंकर ग्रुपका सुलभ अग्रवाललाई मुख्य प्रतिवादीका रूपमा विश्लेषण गरिएको छ ।
त्यस्तै, हिमालयन रि–इन्योरेन्सका तत्कालीन सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला र मनीष कुमार तथा सिइओ उपासना पौडेललाई मुद्दा चलाउन सिफारिस गरिएको छ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालकहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्री सिग्देल, प्रविना दाहाल र सुजल मल्ल तथा हिमालयन सेक्युरिटी बैंकर लिमिटेडका सीताराम वाग्ले र आकांक्षा गुप्ताको मिलेमतो रहेको सिआइबीको निष्कर्ष छ । हिमालयन क्यापसर्भकाअध्यक्ष शिशिर गैह्रेविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।
हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालकहरू कपिलकुमार दाहाल, राजनप्रसाद अधिकारी, बिनु घिमिरे, नारायणकुमार अधिकारी, उत्सव प्रधानांग, सुभाष पौडेल, शालिनी संघई र प्रतीक जोशी तथा क्रेस्ट माइक्रो इन्स्योरेन्सका विदुर पुरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका डा. जयप्रकाश जैसवाल, उद्धवनारायण भट्टराई, प्रमोदप्रसाद भट्टराई, ज्योति अग्रवाल, नवराज मुडभरी, चिरायु भण्डारी, ज्योतिप्रकाश पाण्डे र समीर खरेलमाथि पनि मुद्दा चल्ने भएको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका कीर्तिका अग्रवाल, दिनेश सरिया, हिमालयन लाइफ इन्स्योरेन्सका विवेककुमार शाह, लक्ष्मण ज्ञवाली, राजीवप्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला केसी र दिगम्बर झा अनुसन्धानमा तानिएका हुन् । उनीहरूले सेयर बजारमा सर्कुलर ट्रेडिङमार्फत झुटा कारोबार गरेको सिआइबीको निष्कर्ष छ । यसका लागि ५५ नम्बर ब्रोकर कम्पनी भृकुटी स्टक ब्रोकरले सघाएको थियो । सो ब्रोकरलाई धितोपत्र बोर्डले निलम्बन गरिसकेको छ । उक्त कम्पनीविरुद्ध पनि मुद्दा चलाउने तयारी छ ।
यस मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाल करिब दुई महिनादेखि थुनामा छन् । सुरुमा धितोपत्र तथा बिमासम्बन्धी कसुरमा मुद्दा चलाएर उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने सरकारी वकिलको तयारी छ ।
उनीहरूविरुद्ध नेपाल राष्ट्र बैंकसहित धितोपत्रबोर्ड, बिमा प्राधिकरण, सिआइबी तथा सरकारी वकिल मिलेर संयुक्त अनुसन्धान गरेका हुन् । नेपालमा भएको यो अहिलेसम्मकै ठुलो आर्थिक अपचलन मानिएको छ ।
