पोखरामा तिहारका लागी अत्यधिक माग हुने सयपत्री फूलको बिक्री मूल्य तथा बिक्री स्थल तोकिएको छ । पोखरा महानगरपालिकाले सरोकारवालासँग छलफलपछि सर्वसाधारणको हितका लागि यस्तो निर्णय गरेको हो ।महानगरमा क्रियाशील कृषि सञ्जालहरू, पोखरा उद्योग वाणिज्य संघ, फ्यान कास्की, कृषि ज्ञान केन्द्र कास्कीलगायतसँग छलफल गरिएको महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । पोखरा आफैँमा सयपत्री फूलमा आत्मनिर्भर छ ।
पोखराका विभिन्न स्थानमा उत्पादित सयपत्री फूलहरूको आकार अनुसार ग्रेडिङ गरी ‘ए’, ‘बि’ र ‘सी’ गरी मूल्य तोकिएको छ । ‘ए’ ग्रेड १५ देखि २० ग्राम प्रतिथुङ्गा फूलको मूल्य ५ रुपैयाँ, प्रतिमाला १५० र प्रतिकेजी ३०० देखि ४०० रुपैयाँ तोकिएको छ ।यस्तै, ‘बि’ ग्रेड १० देखि १५ ग्राम प्रतिथुङ्गा फूलको मूल्य ४ रुपैयाँ, प्रतिमाला १३० र ‘सी’ ग्रेड ५ देखि १० ग्राम प्रतिथुङ्गा फूलको मूल्य २ रुपैयाँ, प्रतिमाला १ सय रुपैयाँ तोकिएको कडरियाले बताए ।
पोखराका करिब २५ बढी स्थानहरूमा स्थानीय सयपत्री फूलको बिक्री स्थल तोकिएको छ । तोकिएका स्थानहरूबाट ३ देखि ५ कात्तिकसम्म फूलहरू खरिद गर्न सकिने छ ।
पोखरा महानगरपालिकाको सहयोगमा करिब ३ सय रोपनीमा सयपत्री फूल खेती भइरहेको छ । यस वर्ष ३ लाख माला उत्पादन हुने र करिब ३ देखि ४ करोडको कारोबार हुने अनुमान गरिएको छ । ३ वर्षदेखि निरन्तर बीउमा अनुदान तथा बजारीकरणमा सहजीकरण गर्दै आएको पोखरा महानगरले कृषकलाई न्यूनतम समर्थनमूल्य समेत प्रदान गर्दै आएको जनाएको छ ।
महानगरपालिकाका मेयर धनराज आचार्यले स्थानीय सयपत्री फूलमा पोखरा आत्मनिर्भर भइसकेकाले प्लास्टिकका फूलमालाहरु बिक्री वितरण नगर्नसमेत अनुरोध गरेका छन् । कृषकको मनोबल उच्च बनाउन मल, बिउ, उत्पादनको बजारीकरण र समर्थन मूल्यमा समेत सहयोग गर्दै आइरहेको उनले बताए ।
