यो तथ्य त सबैले मानेकै छन्, फुटबलको विश्वकप जित्न बरू सजिलो होला, यसमा छनोट हुन गाह्रो छ । विश्वकपको छनोट आफैंमा कति गाह्रो छ, यो तथ्य इटालीभन्दा अरूलाई थाहा हुने नै भएन । विश्व फुटबलको महाशक्ति रहेको इटाली छनोट चरणमै रोकिएको तीनपल्ट भइसकेको छ । इटालीको मिडियाले यो असफलताको क्रमलाई त्यहाँको फुटबलमा प्रलय मानेको छ ।
अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ सुरु हुन दुई साताभन्दा केही दिन बाँकी हुँदा प्रायः यसको छनोट यात्रालाई पछाडि फर्केर सम्झने चलन हुन्छ । साँच्चै नेपालको विश्वकप छनोट यात्रा कस्तो छ ? प्रश्न स्वाभाविक छ । नेपालको विश्वकप छनोट यात्रामा इटालीसँग जोडिएर हेर्नुपर्ने कारण के छ त ? खासै केही छैन तर नेपाली राष्ट्रिय टोलीका अहिलेका प्रशिक्षक इटालीकै हुन् ।
उनी हुन्, गुग्लिएर्ल्मो एरेना । उनीभन्दा अगाडि अर्का एक इटालियन प्रशिक्षकले पनि नेपाली टिम सम्हालेका थिए । उनी थिए, भिन्सेन्जो अल्बर्टो । खासमा उनी नेपाली टिम सम्हाल्ने पहिलो इटालीका प्रशिक्षक हुन् । उनकै नेतृत्वमा नेपालले विश्वकप छनोट पनि खेलेको थियो । भारतको बेंगलुरुमा भएको पछिल्लो साफ च्याम्पियनसिप २०२३ ताका उनीसँग धेरै विषयमा केही लामो कुरा गर्ने अवसर मिलेको थियो ।
त्यति बेला इटालीले विश्वकप छनोट यात्रामा बेहोरेको असफलताको प्रसंग उप्किने भयो नै । उनी भन्थे, ‘इटालीको फुटबलका लागि विश्वकपमा छनोट हुन नसक्नुको जति ठूलो पीडा अरू हुनै सक्दैन ।’ त्यही विश्वकप छनोटसँग नेपाल जोडेर उनले भनेका थिए, यो यात्रा कहिल्यै सजिलो हुन्न, कसैका लागि पनि । चाहे त्यो इटाली होस् या नेपाल नै । नेपालका लागि छनोट खेल्नु पनि आफैंमा ठूलो हो । रह्यो, कुनै बेला असाध्यै निराशाजनक पनि । तर केही अवसरमा यो सुखद बनेको छ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालको सहभागितालाई लिएर कुरा गर्दा यो छनोट यात्रा छुटाउनै हुन्न । खासमा केही सम्झनलायक र ऐतिहासिक प्रदर्शन यही विश्वकप छनोटसँग जोडिएका छन् ।
नेपालले विश्वकप छनोट खेलेको सबैभन्दा पहिलो अवसर सन् १९८५ मा हो । यो त्यही समय हो, जतिबेला नेपाली राष्ट्रिय टोली रूपकराज शर्माको नेतृत्वमा स्वर्णिम पुस्ताका खेलाडीले भरिएको थियो । त्यसको एक वर्षपछि धेरैभन्दा धेरै नेपालीले पहिलो पटक मेक्सिकोमा भएको सन् १९८६ विश्वकप पनि हेरे । टेलिभिजनले नेपालीको घरमा प्रवेश पाइसकेको थियो, तर यो आम प्रचलन भने थिएन ।
जुन घरमा टेलिभिजन थियो, त्यहीं गएर धेरै विश्वकप हेरे । त्यो विश्वकप अर्जेन्टिनाले जितेको थियो र डिएगो म्याराडोना पनि नेपाली फुटबलप्रेमीको माझमा छाए । नेपाली फुटबलप्रेमीका लागि त्यो विश्वकपसँग पहिलो प्रेमजस्तै थियो । त्यसैले भनिन्छ, अझै पनि नेपालीले विश्वकपमा कुनै एक खास टिमलाई धेरै समर्थन गर्छ भने त्यो अर्जेन्टिना हो । भलै, नेपालसँग उसको साइनो केही खासै छैन ।
फेरि नेपालको त्यो पहिलो विश्वकप छनोटमै फर्किने हो भने नेपाल दक्षिण कोरिया र मलेसियाको समूहमा परेको थियो । नेपालको पहिलो छनोट खेल भएको थियो, दशरथ रंगशालामै । त्यो ऐतिहासिक दिन थियो, मार्च २ । प्रशिक्षक थिए, प्रख्यात जो किनर । नेपालबाट इंग्ल्यान्ड फर्केपछि उनले नटिङ्घम फरेस्ट र न्युकासल युनाइटेडको प्रशिक्षण पनि सम्हालेका थिए । दक्षिण कोरियाविरुद्धको त्यो खेलमा नेपाल २–० ले पराजित रह्यो ।
त्यो खेल प्रत्यक्ष हेर्नेहरू अझै के भन्छन् भने खासमा जित्नुपर्ने नेपालले थियो । दक्षिण कोरिया अन्ततः त्यो विश्वकपका लागि छनोट पनि भयो । त्यसयता दक्षिण कोरियाको कुनै पनि संस्करण छुटेको छैन । अझ रमाइलो त के भने अर्जेन्टिना र दक्षिण कोरिया लिग चरणमा एउटै समूहमा थिए । पहिलो विश्वकप छनोटको यात्रा नेपालका लागि धेरै हदसम्म सुखद नै रह्यो ।
त्यसपछि सन् १९८९ मा नेपालले दोस्रोपल्ट विश्वकपको छनोट खेल्यो । यो भने सुखद रहेन । कप्तान थिए, गणेश थापा । नेपालको समूहमा दक्षिण कोरिया, मलेसिया र सिंगापुर थियो । छनोटका ६ खेलमा नेपालले एकोहोरो २८ गोल खाएको थियो । त्यसपछि नेपालले अर्को विश्वकप छनोट खेल्न सन् १९९७ कुर्नुपर्यो । कप्तान थिए, राजुकाजी शाक्य । यो विश्वकप छनोट पनि ठिकठिकै रह्यो ।
नेपाल यस पटक जापान, ओमान र मकाउको समूहमा परेको थियो । मकाओविरुद्धको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । यस्तोमा नेपालले छनोटको पहिलो अंक बटुलेको त्यही खेल हो अनि विश्वकप छनोटमा नेपालका लागि पहिलो गोल गर्ने खेलाडी बने, हरि खड्का । समय थियो, खेलको २२ औं मिनेट । सन् २००१ को विश्वकप छनोट भने अहिलेसम्मकै सबैभन्दा बढी सम्झनलायक रहेको छ ।
नेपालले इराक र काजकिस्तानविरुद्धको खेल त गुमायो । तर मकाउविरुद्ध दुई सानदार जित निकाल्न सफल रह्यो । मकाउविरुद्ध पहिलो खेल ४–१ ले जितेपछि दोस्रो खेलमा अझ राम्रो ६–१ को जित निस्केको थियो । यो छनोटमा नीराजन रायमाझी खुबै छाए । उनले ऐतिहासिक ह्याट्रिक पनि गरे । त्यस छनोटमा नीराजन एक्लैले ७ गोल गरे । त्यस विश्वकप छनोटको पहिलो चरणमा सबैभन्दा बढी गोल गर्ने सूचीको अगाडितिरै नीराजन पनि परे ।
नेपालले लगत्तैको विश्वकप छनोट नै खेलेन । सन् २००३ को एसिया कप छनोटमा नेपालको असाध्यै खराब प्रदर्शनपछि विश्वकप छनोट नखेल्ने कारण तयार भएको थियो । त्यतिबेला अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा थिए, गणेश थापा । यस्तोमा एक पुस्ताले नै विश्वकप छनोट खेल्न पाएन । उनको कार्यकालको सबैभन्दा खराब निर्णयमध्ये यो पनि एकमा पर्छ । त्यही छनोट नखेलेकै कारण नेपालले फिफालाई जरिवाना पनि तिरेको थियो ।
सन् २००७ मा नेपाल फेरि एकपल्ट विश्वकप छनोटमा सहभागी भयो । त्यो दुई खेलमै सीमित भयो । ओमानविरुद्धको दुवै खेलमा नेपाल पराजित रह्यो । यो विश्वकप छनोटका दुई ठूला विशेषता रह्यो । एक त नेपालले लिजेन्डरी श्याम थापाको प्रशिक्षणमा यो विश्वकप छनोट खेलेको थियो । यो विश्वकप छनोट खेल्दासम्म एन्फा एकेडेमीको उत्पादन राष्ट्रिय टिममा पर्न थालिसकेको थियो ।
सन् २०११ को विश्वकप छनोट पनि राम्रै रह्यो, एउटा खास ठूलो अन्तरको हार छाड्ने हो भने । छनोटको पहिलो चरणमा नेपालले टिमोर लिस्टेलाई पन्छाएको थियो । त्यसपछि जोर्डनको सामना गरेको थियो । जोर्डनविरुद्धको पहिलो खेलमा नेपाल ९–० ले पराजित भयो । त्यतिबेला प्रशिक्षक थिए, ग्राहम रोबटर््स । त्यो खेलपछि उनले भनेका थिए, ‘मैले आफ्नो पूरा खेलजीवनमै यति खराब हार कहिल्यै बेहोरेको थिइनँ ।’
पछि दशरथ रंगशालामा यही टिमविरुद्ध नेपाल १–१ को बराबरी नतिजा निकाल्न सफल रह्यो । त्यसमा ऐतिहासिक गोल गर्न सफल खेलाडी थिए, भरत खवास । सन् २०१५ को विश्वकप छनोट पनि ठीकै रह्यो । नेपालको एक्लो प्रतिद्वन्द्वी भारत थियो । एउटा खेल भारतले जित्यो भने अर्को खेल बराबरीमा टुंगियो । त्यतिबेला भारतीय टोलीका प्रशिक्षक थिए, स्टेफन कन्स्टाइनटिन । उनी त्यस अगाडि लामै समय नेपालका प्रशिक्षक रहेका थिए ।
सन् २०१९ को विश्वकप छनोटमा पनि नेपालको प्रदर्शन न राम्रो रह्यो, न त खराब । त्यति बेला नेपालले अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेईको सामना गरेको थियो । चाइनिज ताइपेईविरुद्धका दुई जित उल्लेखनीय रह्यो । सन् २०२३ को विश्वकप छनोट आइपुग्दा तिनै इटालीका प्रशिक्षक अल्बर्टो नेपाल आइसकेका थिए । सुरुमा चरणमा नेपालले लाओसलाई पन्छाएको थियो ।
त्यसपछि भने यूएई, बहराइन र यमनविरुद्ध खेल्नुपरेको थियो । त्यसमा भने जस्तो नतिजा आएन । पछि भिन्सेन्जोले माने, साँच्चै विश्वकप छनोट यात्रा कहिल्यै सजिलो हुन्न । विश्व फुटबलको एउटा सुन्दर पक्ष के भन्दा यसमा प्रत्येक देशको हैसियत समान हुन्छ । त्यसैले नेपालले जस्तै सबै असाध्यै बलियो देशले पनि छनोट खेल्नैपर्छ । त्यसैले पनि विश्वकप छनोट खेल्नु पनि नेपाली फुटबलका लागि एउटा ठूलै अवसर रहने गर्छ ।
साभारः कान्तिपुर दैनिक ।
