राजधानीको गोंगबुस्थित एक होटलबाट ४५ राउण्ड गोली, एसएलआरमा प्रयोग हुने म्यागजिन र मेटल नक १ थान भेटिएको छ । प्रहरीले गोंगबुको शिव मन्दिर नजिकै काबेली गेष्ट हाउसबाट ती सामानसहित राजविराज १३ का २७ वर्षे खगेन्द्र शर्मा र २२ वर्षे ओम शंकर गुप्तालाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै भारत जाँदै गरेको अवस्थामा नेपालगञ्ज १५ को पिप्रहवास्थित सीमा इलाकामा जुम्लाका ६२ वर्षे रणबहादुर रोकायाको साथबाट साढे ५ किलो अफिम, पाँच ग्राम चरेशसहित पक्राउ परेका छन् । उनलाई सशस्त्र प्रहरी बलको बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्रबहादुर शाहीको नेतृत्वमा खटिएको ७ जनाको मोटरसाइकल गस्ती टोलीले नियन्त्रणमा लिएका हुन् ।
जुम्लाको साबिक घोडेमहादेब गाविस ९ र हाल तिला गापा–७ का रोकाया पछिल्लो समय कोहलपुर न.पा.१० मा बस्दै आएको बताइन्छ ।
