संघीय सरकारअन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्र, हेटौँडाको नाममा रहेको जग्गा अतिक्रमणमा परेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ५ मा रहेको केन्द्रको स्वामित्वको जग्गा केही व्यक्तिले वर्षौँदेखि अतिक्रमण गरी कब्जा जमाउँदै भोगचलन गर्दै आएकाले त्यसलाई हटाउने प्रक्रिया थालिएको छ ।
केन्द्रको जग्गा पाँच जना व्यक्तिले अतिक्रमण गरी संरचना बनाएर बसेको पाइएकाले ती संरचना हटाउन केन्द्रले शुक्रबार सार्वजनिक सूचना जारी गरेको छ । अतिक्रमण गरेर बनाइएका घर, टहरालगायतका संरचना हटाउन केन्द्रले प्रक्रिया सुरु गरेको यो तेस्रो पटक हो । यसअघि केन्द्रले विक्रम संवत २०८० भदौमा ३५ दिने र त्यसपछि १५ दिने सूचना जारी गरेको थियो ।
केही व्यक्तिले जग्गा अतिक्रमण गरी जस्ताको टहरा बनाएको, पसल सञ्चालन गरेको, बारी अतिक्रमण गरेको तथा टहरा र पक्की घर बनाएर रेस्टुरेन्ट सञ्चालन गर्न भाडामा समेत दिएको पाइएको छ ।
केन्द्रका प्रमुख सरोजकुमार यादवले केन्द्रको जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरालगायतका संरचना सात दिनभित्रमा हटाउन सूचना जारी गरिएको जानकारी दिए । केन्द्रको करिब चार कट्ठा जग्गा व्यक्ति विशेषको अतिक्रमणमा परेको भन्दै उहाँले ती जग्गामा बनेका घर, टहरा, होटल, रेस्टुरेन्ट लगायतका सबै संरचना सात दिनभित्र खाली गरिसक्नुपर्ने बताए । तोकिएको समयभित्र संरचना नहटाए केन्द्र आफैँले हटाउने र यसरी जग्गा खाली गराउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्तिबाटै असुलउपर गरिने सूचनामा उल्लेख छ ।
कसले कति जग्गा अतिक्रमण गरे ?
केन्द्रका अनुसार जग्गा भोगचलन गर्दै आएका विष्णु दङ्गालले चर्पीलगायत दक्षिणी भाग, धनबहादुर लामाले घरको पश्चिमटर्फको पर्खालबाट २.४ मिटर उत्तरपट्टिसम्मको क्षेत्रफल र दक्षिणी भाग खाली गर्नुपर्नेछ । यस्तै, सावित्री वज्राचार्य (कुँवर) ले घरको पछाडि रहेको भर्याङदेखि पश्चिम पर्खालको दक्षिण–पश्चिम कुनासहित पश्चिमपट्टि जोडिएको घरको ५.६ मिटर र दक्षिणी भाग खाली गर्नुपर्ने सूचनामा भनिएको छ ।
यसैगरी नवीन श्रेष्ठले घरको दक्षिण भागपट्टि पालीबाट उत्तरतर्फ ४.१ मिटर र दक्षिणतर्फको सबै भाग, उद्धव चौलागाईंले घरको दक्षिणतर्फको पालीबाट उत्तरतर्फ ४.१ मिटर र दक्षिणतर्फको खोर, जस्ताको घर, मेनरोडको घर, चर्पी, भर्याङ र माछा पसल तथा कृष्णबहादुर पाख्रिनले केन्द्रको भवन, होटल, टहरा र खोर अतिक्रमण गरी बस्दै आएकाले हटाउन सूचना जारी गरिएको प्रमुख यादवले बताए ।
पाख्रिनले केन्द्रको भवनमा बसेर पिप्ले युवा क्लबले निर्माण गरेको रङ्गशालाको रेखदेख गर्दै आएको पाइएको छ भने वज्राचार्यले केन्द्रको जग्गामा बनाएको संरचनामा रोशन श्रेष्ठले भाडामा रेस्टुरेन्ट सञ्चालन गरिरहेको केन्द्र प्रमुख यादवले जानकारी दिए ।केन्द्र प्रमुख यादवका अनुसार अतिक्रमणमा परेको कुल १३ कट्ठा जग्गामध्ये नौ कट्ठाको अतिक्रमण यसअघि नै हटाइसकिएको छ । बाँकी जग्गामा स्वास्थ्य केन्द्र सञ्चालन हुनुका साथै पिप्ले युवा क्लबले रङ्गशाला निर्माण गरेको छ ।
प्रमुख यादवले पहिलो चरणमा व्यक्तिले अतिक्रमण गरेका संरचना हटाउन लागिएको भन्दै दोस्रो चरणमा स्वास्थ्य केन्द्र र रङ्गशालाका बारेमा स्थानीय तहसँग समेत छलफल गरी आवश्यक निर्णय गरिने बताए । नापी कार्यालयबाट केन्द्रको जग्गा नापजाँच गराउँदा कित्ता नम्बर ६६ को जग्गा अतिक्रमणमा परेको पुष्टि भएको उनको भनाइ छ ।
क्लबले खेलमैदानका रूपमा प्रयोग गरेको केन्द्रको जग्गामा बागमती प्रदेश सरकार, स्थानीय सरकारका साथै सार्वजनिक र निजी क्षेत्रको ठुलो लगानी रहेको छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भइरहेकाले चाँडै टुङ्गो लाग्ने यादवले बताए । तथ्याङ्कअनुसार सबैभन्दा बढी जग्गा क्लबले पिप्ले क्याम्पा रङ्गशाला र हेल्थपोस्टका रूपमा प्रयोग गरेको पाइएको छ ।
वि.सं. २०२४ मा मत्स्य विकासको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ स्थापना भएको यस केन्द्रको नाममा कुल ४९ हेक्टर क्षेत्रफल जग्गा रहेको छ ।
