सगरमाथामा आरोहीको लामाे लाम

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

एक सातामा २५० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन् । यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य सङ्ख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन् । सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार वैशाख ३१ गते चुचुरोसम्मको बाटो खुलेयता बुधबारसम्म उल्लिखित सङ्ख्यामा आरोही र सहयोगी शेर्पासमेतले आरोहण पूरा गरी आधार शिविर फर्किएका छन् ।

खुम्बु क्षेत्रको पर्वतारोहणसम्बन्धी गतिविधि व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दाे बनाउन आधार शिविरमा खटिनुभएका सम्पर्क अधिकृत सुशील सेर्माका अनुसार सगरमाथा आरोहणको समय १० दिन मात्र बाँकी रहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन् । “यस वर्ष सगरमाथा आरोहणका लागि अब १० दिन मात्रै बाँकी रहँदा आधा जति आरोहीले आरोहण पूरा गरेका छन् । पछिल्लो तीन दिनयता आरोहणका लागि मौसम अनुकूल हुँदा र आरोहण सकिने समय नजिकिँदै जाँदा अहिले चुचुरोतर्फ जाने आरोहीको लाम लागेको छ,” उनले भने  ।

हिजाे बुधबार मात्रै करिब दुई सय हाराहारी आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले अबको दुई दिनभित्रै आरोहण सफल गर्ने आरोही दोब्बरले बढ्न सक्ने उनले जानकारी दिए  । आरोहण अवधिभर मौसम अनुकूल रहे यस वर्ष इतिहासकै सर्वाधिक आरोही चुचुरोमा पुग्ने उनको भनाइ छ ।

पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा सगरमाथासहित ३० वटा हिमाल आरोहणका लागि एक हजार १८१ आरोहीले अनुमति लिएका छन् । जसमध्ये सगरमाथा आरोहण गर्न मात्रै ४९४ जनाले अनुमति पाएका छन् । विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि नेपालसहित ५५ देशका ४९४ आरोहीले अनुमति लिएका हुन् ।

विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत एक अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपियाँ राजस्व सङ्कलन गरेको छ । जसमध्ये  सगरमाथाबाट मात्रै एक अर्ब सात करोड ८६ लाख ९१ हजार ४७५ रुपियाँ राजस्व सङ्कलन भएको छ ।

कीर्तिमान बनाउने र तोड्ने लहर

विश्वविख्यात आरोही कामिरिता शेर्पा ३२ औँ पटक सगरमाथामा पुगेको दुई दिनभित्रै अर्का प्रख्यात आरोही पासाङदावा (पादावा) शेर्पा ३० औँ पटक सर्वोच्च शिखरमा पुगे  । सोलुखुम्बुको पाङ्बोचेका पासाङदावा ४९ वर्षीय पासाङदावाले ३० औँ पटक सर्वोच्च शिखरमा पुगेसँगै विश्वकै दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने आरोहीको कीर्तिमान बनाए  ।

सोमबार बिहान शिखरमा पुगेका उनि  यसै याममा पुनः सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोड्ने तयारीमा रहेका छन् । सगरमाथा आरोहणमा कामिरितालाई पछ्याइरहेका उनले विक्रम संवत् २०५५ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए ।

साभारः गाेरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *