हाइटेन्सन लाइन मुनि पक्की घर मानिसका लागी उच्च जाेखिम

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

उच्च क्षमताको विद्युत् प्रसारण तार (हाइटेन्सन लाइन) मुनि घर तथा टहरा बनाउने प्रवृत्ति देशभर झाँगिएको छ । हाइटेन्सनमुनिका जग्गाधनीले नेपाल विद्युत् प्राधिकरणबाट मुआब्जा लिएर पनि घर नभत्काउने तथा मापदण्डविपरीत पुनः घर तथा टहरा बनाउने प्रवृत्ति जारी नै छ ।

विद्युत् प्रसारण लाइनको मार्गाधिकार क्षेत्र (राइट अफ–वे) मा घर, टहरा वा अन्य भवन बनाउन र अग्ला रुख रोप्न पूर्ण रूपमा निषेध गरिए पनि जनचेतना अभाव र अव्यवस्थित सहरीकरणका कारण तारमुनि संरचना बन्ने क्रम रोकिएको छैन ।

प्रसारण लाइन निर्माण गर्ने क्रममा प्राधिकरणले टावर निर्माण स्थल र जग्गाको मुआब्जा उपलब्ध गराए पनि अवैध रूपमा घर, टहरा निर्माण गर्ने गरिएको छ । उच्च जोखिम मानिने प्रसारण लाइनको मार्गाधिकार क्षेत्र (राइट अफ–वे) मा पाँच तलासम्मको पक्की घर निर्माण भएको पाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

हाइटेन्सन लाइनमुनि अनधिकृत रूपमा बनाइएका घर, टहराले जोखिम बढाएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार प्रसारण लाइनमुनि घर निर्माण गर्दा वर्षाको समयमा हाई भोल्टेज आउँदा करेन्ट लाग्ने जोखिम उच्च हुन्छ । भू–माफियाको चलखेलका कारण लगत कट्टा गरिसकेको जग्गासमेत किनबेच हुँदै उक्त जग्गामा घरसमेत निर्माण भएको छ । प्राधिकरणका अनुसार अहिले देशभरि सात हजार तीन सय सर्किट किलोमिटर हाइटेन्सन लाइन निर्माण भइसकेको छ ।

नेपाल विद्युत् प्राधिकरण प्रसारण निर्देशनालय प्रमुख तथा प्रवक्ता राजन ढकालले विद्युत् ऐन, २०४९ आएदेखि नै प्राधिकरणले विद्युत् प्रसारण लाइन तथा टावर निर्माण स्थलको मार्गाधिकार क्षेत्र (राइट अफ–वे) मा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दिँदै आएको बताउँदै मुआब्जा तथा क्षतिपूर्ति पाइसकेको जग्गाधनीले (राइट अफ–वे) मा घरलगायतका संरचना निर्माण गरेको पाइएको जानकारी दिए  ।

उहाँले २०४९ अघि पनि प्रसारण लाइन तथा टावर निर्माण स्थलमा पर्ने जग्गाको क्षतिपूर्ति दिँदै आएको जानकारी दिए । विद्युत् ऐन, २०४९ आउनुअघि मुआब्जा दिने प्रस्ट कानुनी व्यवस्था थिएन । उनले भने  “मुआब्जा तथा क्षतिपूर्ति दिइसकेको (राइट अफ–वे) मा पर्ने जग्गामा खेतिपाती गर्न पाइन्छ तर अग्लो घरलगायतका संरचना निर्माण गर्न पाइँदैन तर (राइट अफ–वे) मा पनि अग्ला अग्ला संरचना निर्माण गर्नुका साथै विभिन्न संरचना खडा गरी अतिक्रमण गरिएको पाइएको छ ।”

यसरी टावर निर्माण स्थल र प्रसारण लाइनमुनि संरचना निर्माण गर्दा आमनागरिकमा जोखिम बढ्दै गएको र यसले मानिसको ज्यान जाने र आगलागी हुने गरेको उहाँले बताए  । उनका अनुसार यसप्रकारको समस्या देशभरि नै देखिए पनि सहरी क्षेत्रमा बढी छ । टावर निर्माण स्थल र प्रसारण लाइनमुनि संरचना निर्माण भएकै कारण जनधनको क्षति भएको अवस्थामा त्यसको जिम्मेवारी प्राधिकरणले लिन नसक्ने उहाँले स्पष्ट पारे  ।

उहाँका अनुसार प्राधिकरणले त्यस्ता उच्च जोखिम क्षेत्रमा विद्युत्को मिटर जडान गरिदिन अस्वीकार गर्दै आएको छ । सम्बन्धित पालिकाले विद्युत् लाइनको (राइट अफ–वे) मा निर्माण हुने संरचनाको नक्सा पास रोक्नुलगायतका हस्तक्षेप गर्नुपर्ने उहाँको भनाइ छ । पालिकाको हस्तक्षेप यसप्रकारको संरचना निर्माणमा कमी आउने सक्ने उहाँको विश्वास छ ।

निर्देशनालय प्रमुख ढकालका अनुसार प्रसारण लाइनको टावर निर्माण हुने र टावरले चर्चेको जग्गा अधिग्रहण भई प्राधिकरणको नाममै रजिस्ट्रेसन हुन्छ भने प्रसारण लाइनमुनिको जग्गाको क्षतिपूर्ति दिने गरिन्छ । सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको मुआब्जा निर्धारण र क्षतिपूर्ति निर्धारण समितिले तोके अनुसार जग्गाको मुआब्जा र क्षतिपूर्ति दिने गरिएको उहाँले जानकारी दिए  । जग्गाको प्रचलित मूल्यको २० प्रतिशत क्षतिपूर्ति दिने गरिएको छ ।

भोल्टेज अनुसार ‘राइट अफ–वे’

निर्देशनालय प्रमुख ढकालले प्रसारण लाइनको भोल्टेज अनुसार क्षेत्राधिकार (राइट अफ–वे) हुने गरेको बताउदै भने “६६ र १३२ केभी प्रसारण लाइनमा नौ मिटर दायाँ र नौ मिटर बायाँ गरी १८ मिटर, २२० केभी प्रसारण लाइनमा १५ मिटर दायाँ र १५ मिटर बायाँ र ४०० केभी प्रसारण लाइनमा २३ मिटर दायाँ र २३ मिटर बायाँ (राइट अफ–वे) हुने गर्छ ।” उनका अनुसार यस (राइट अफ–वे) भित्र कुनै पनि संरचना निर्माण गर्न पाइँदैन । यस्तै ११ केभीका स्थानीय प्रसारणका लागि दायाँ बायाँ छ देखि आठ मिटरभित्र कुनै संरचना निर्माण गर्न पाइँदैन ।

समाधानको प्रयास

हाइटेन्सन लाइनपीडित समस्याको दीर्घकालीन समाधानका लागि २०८१ पुस १७ गते पूर्वाधार विकास समितिको बैठकबाट तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको संयोजकत्वमा संसदीय उपसमिति गठन गरिएको थियो । समाधानका लागि विभिन्न अध्ययन गरिए पनि कुनै प्रगति हुन सकेन ।

निर्देशनालय प्रमुख ढकालले टावर र प्रसारण लाइनमुनि कुनै पनि संरचना निर्माण नगर्न प्राधिकरणले आमनागरिकलाई सचेत गराउनुका साथै सम्बन्धित पालिका, वडा कार्यालय र व्यक्तिगत रूपमा समेत औपचारिक अनुरोध गर्दै आइएको जानकारी दिए  ।

विद्युत् प्रसारण लाइनको मार्गाधिकार क्षेत्रमा घर वा अन्य संरचना निर्माणका कारण भएको मानवीय क्षतिको यकिन तथ्याङ्क उपलब्ध नभए पनि विभिन्न समयमा भएका दुर्घटनामा परी बर्सेनि मानिसको ज्यान जाने गरेको प्राधिकरणको भनाइ छ ।

साभारः गाेरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *