राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनले शपथ ग्रहण गरेका हुन । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।
यस अघि संवैधानिक परिषद्को २०८३ वैशाख २४ गतेको निर्णय बमोजिम नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिको लागि सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश डा. शर्मालाई संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको थियो ।
प्रधानन्यायाधीशको नियुक्ती लगत्तै उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन। राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगै कुटनीतिक नियोगका प्रमुख र विशिष्ट कर्मचारीलगायतको उपस्थिति थियो ।

पर्सा जिल्लाको वीरगन्जमा वि.सं. २०२७ असार ४ गते जन्मेका शर्मा वि.सं. २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए ।
शर्माले काठमाडौँस्थित नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक (बीएल) , भारतको पुणे विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) र त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि (पीएचडी) गरेका छन् ।
२०५२ सालमा अधिवक्ताका रूपमा अनुमतिपत्र प्राप्त गरी कानुन व्यवसायमा प्रवेश गरेका शर्माले कानुनका विविध क्षेत्रमा वकालत गर्दै आएका छन्।
उनसँग नेपालका विभिन्न जिल्ला र क्षेत्रमा पुगेर जिम्मेवारी सम्हालेको अनुभव छ । बुटवल र पाटन पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रूपमा समेत जिम्मेवारी वहन गरिसकेका उनले आफ्नो व्यावसायिक जीवनका क्रममा देश तथा विदेशमा आयोजना भएका विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाएका छन्।
