राप्रपाका नेताहरुको भेला : राजतन्त्रको मुद्दालाई सशक्त बनाउन सक्ने नेतृत्वलाई सघाउने निर्णय

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनलाई लक्षित गर्दै गतिविधिहरु बढ्न थालेको छ । यही क्रममा सोमबार नेता जगत गौचनको संयोजकत्वमा राजधानीमा भएको नेताहरुको भेलाले राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दालाई प्रखर रूपमा अगाडि बढाउन सक्ने नेतृत्वलाई सहयोग गर्ने निर्णय गरेको छ ।

भेलाले पार्टीलाई एकढिक्का बनाएर लैजाने र राजतन्त्रको एजेन्डामा स्पष्ट अडान राख्ने राष्ट्रवादी नेतृत्वलाई अगाडि बढाउने निर्णय गरेको गौचनले बताए । भेलामा करिब दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यसहितका नेताहरुको उपस्थिति रहेको थियो ।  गौचनका अनुसार बैठकमा पार्टीको आगामी महाधिवेशनका रणनीति र नेतृत्वको विषयमा गम्भीर छलफल भएको छ ।

सहभागी सदस्यहरूले आगामी महाधिवेशनबाट पार्टीलाई विभाजन हुन नदिई एकताबद्ध बनाउने र ‘पक्का राजावादी’ एवं राष्ट्रवादी छविको व्यक्तिलाई नेतृत्वमा पुर्‍याउनुपर्नेमा जोड दिएको उनको भनाइ थियो ।भेलामा नेता भरत रायमाझी, प्रकाशजङ्ग कार्की, प्रल्हाद शाह, मीनबहादुर शाही, गोपीचन्द्र शर्मा, केदार कोइराला, पूजा राणालगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

बैठकमा सहभागी नेताहरूले अबको नेतृत्व केवल पदका लागि नभई राजतन्त्र र हिन्दुत्वको मुद्दालाई गन्तव्यमा पुर्‍याउन सक्ने प्रखर व्यक्तिको हुनुपर्ने धारणा राखेका थिए ।

गौचनले भने, ‘हाम्रो मुख्य उद्देश्य पार्टीलाई एकढिक्का बनाएर महाधिवेशनमा जाने हो । हामीले कुनै व्यक्तिको नाम अहिल्यै किटान नगरे पनि महाधिवेशनमा राजतन्त्र, राष्ट्रवादी र हिन्दुवादी सोच भएको प्रखर व्यक्तिलाई नेतृत्वमा ल्याउने विषयमा सहमति गरेका छौँ ।’ उनले पार्टीको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गरी नेतृत्वको टुङ्गो लगाउनुपर्ने माग समेत गरे ।

विशेषगरी युवा र प्रखर राजावादी नेताहरूलाई नेतृत्वको अग्रपङ्क्तिमा ल्याउनुपर्ने आवाज भेलामा उठाइएको थियो । बैठकमा सहभागी नेताहरुले पार्टीको मूल सिद्धान्त र जनताको भावनालाई समेट्न सक्ने नेतृत्व नै अहिलेको आवश्यकता भएको धारणा राखेका थिए ।

राप्रपाका नेताहरुले तत्काल महाधिवेशनको मिति घोषणा गर्न माग गरेपनि हालसम्म मिति भने घोषणा हुन सकेको छैन । बरु जेठ १ गतेको  केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका बनाउन समिति गठन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *