बर्दियामा जंगली हात्तीको आतंक

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बर्दियाको राजापुर क्षेत्रमा एक साता अघिदेखि हात्तीले बिध्वंस मच्चाएको छ । जंगली हात्तीले घर टहरा भत्काउँदै वसन्ते मकैसँगै चैते धान खेतीमा समेत क्षति पुर्‍याएको छ । बर्दियाको राजापुर नगरपालिका–४ स्थित सरस्वती सामुदायिक वन उपभोक्ता समूह भवनको उत्तर, राजापुर बजार र जग्गुटोलदेखि दक्षिण पर्ने गाउँको करिव ७ हेक्टर आवादी जग्गामा लगाइएको वसन्ते मकै तथा चैते धान खेतीमा जंगली हात्तीले विध्वंश मच्चाउँदा क्षति पुर्‍याएको राजापुर गाउँका वरघर अनिल कुमार चौधरीले बताएका छन् ।

एक साता अघिदेखि रातको समयमा जंगली हात्तीले आतंक मच्चाईरहेको छ । हात्तीले वालीनालीसँगै घर टहरामा क्षति गरेको स्थानीय कृषक शर्मा चौधरीले बताए । हात्तीले धेरै दिनदेखि दलै गाउँ, घुम्ना गाउँ र छेदिया बस्तीमा पनि वाली नाली क्षति गर्दै घर टहरा भत्काई दिएको छ । खेतीपाती खाएर कुल्ची दिई नोक्सान गरेको अवस्थाले किसानहरु चिन्तित छन् ।

समयमै हात्ती नधपाए वा नियन्त्रण नगरे भविष्यमा ठूलो धनजनको क्षति हुने भएकाले समयमै हात्ती नियन्त्रणको लागि पहल गरिदिन तीन गाउँका वरघरलगायत स्थानीय किसानहरुले राजापुर नगरपालिकासँग अपिल गरेका छन् । स्थानीयले हात्ती नियन्त्रणका लागि राजापुर नगरपालिकालाई अपिल पत्र बुझाएका छन् ।

राजापुर निवासी स्थानीय छप्पुराम चौधरीले हात्तीको भौतिक आक्रमण नरोकिएको बताए । सयौं विगाहा क्षेत्रफलमा लगाएको मकै, चैते धान हात्तीले नष्ट पारेको छ । उनले भने हालसम्म राजापुर क्षेत्रमा ५ वटा घर हात्तीले भत्काएको छ । संघर्ष नगर लगायत प्रकाश थारुको घरको भित्ता भत्काएर चामल नोक्सान गरिदिएको उनले प्रष्ट्याए । जसरी पनि हात्ती नियन्त्रण गर्नुपर्ने हो तर हुन सकेन ।

स्थानीय लगायत डिभिजन वन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले हात्ती धपाएर गेरुवा (कर्णाली) पुल नजिकै पुर्‍याए पनि फेरि फर्किएर आएको छ । गाउँमा हात्ती पल्किएको छ । धपाए पनि पटक पटक आईरहन्छ । यसलाई दीगो ब्यवस्थापन गर्नुपर्छ । थारुले थपे, ‘समयमै हात्ती नियन्त्रणमा नआए मानवीय जोखिम हुन सक्छ । हात्ती एउटै अजंगको छ । ठूला ठूला दारा छन् । देख्दै डरलाग्दो हात्तीले करिव २ साता हुन लाग्यो गाउँमा विध्वंस गर्न छाडेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *