मोरङ कानेपोखरी–५, भौंसाबारीका ४५ वर्षीय हर्कबहादुर धिमाल सोमबार बिहान उज्यालो नहुँदै काँधमा रित्तो प्लास्टिकको बोरा बोकेर घरबाट निस्किए । दुई किलोमिटर उत्तरको रमाइलो बजार पुग्दा उहाँको मनमा एउटै आशा थियो, “आज त जसरी पनि मकैका लागि मल पाउँछु ।”
छिमेकीले ‘साना किसान कृषि सहकारीमा मल बाँडिँदैछ’ भन्ने खबर सुनाएपछि हर्कबहादुर झिसमिसेमै लाइनमा उभिन पुगेका थिए तर उनि पुग्दा किसानको निकै लामो लाइन लागिसकेको थियो ।
“प्रतिव्यक्ति १० किलोका दरले मल बाँडिँदै थियो, त्यही १० किलोका लागि पनि ४ घण्टाभन्दा बढी लाइनमा बसेँ,” हर्कबहादुरले अनुहार अँध्यारो पार्दै सनाए , “साढे १२ बजेतिर जब मेरो पालो आउनै लागेको थियो, मल सकियो भनेर सटर लाग्यो ।”
दिनभरि लाइनमा बसेर पनि मल नपाउने हर्कबहादुर एक्ला किसान होइनन् अरू धेरै किसान रित्तै हात फर्किन बाध्य भए । सोमबार करिब चार सय किसानले मल पाएनन् र रित्तोहात घर फर्किए । अहिले मकैको घोगा लाग्ने बेला भएको छ ।
“यो बेला मल हाल्न पाइएन भने घोगा नै लाग्दैन, लागे पनि पुष्ट हुँदैन,” उनिले पीडा व्यक्त गर्दै भने , “घाममा टन्टलापुर सुकेर बस्दा पनि रित्तो हात फर्किनुपर्याे, अब मकै कसरी जोगाउने ?” मोरङसहित पूर्वी तराईका किसानहरूले पछिल्लो समय जुट, चैते धान, गहुँ र दाल खेती घटाएर मकै खेतीलाई प्राथमिकता दिन थालेका छन् ।
मकैको व्यावसायिक उत्पादन र बजारको मागका कारण खेतीको क्षेत्रफल बर्सेनि बढ्दो छ । तर, सरकारको मल वितरण प्रणाली भने अझै पनि दशकौँ पुरानो खेती तथ्याङ्कमा आधारित छ । मकै खेतीमा अन्य बालीको तुलनामा अत्यधिक मल आवश्यक पर्छ । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार किसानले मकैमा कम्तीमा तीनदेखि चार पटकसम्म युरिया मल हाल्ने गरेका छन् ।
मलको अभाव देखिनुमा आवश्यकता भन्दा बढी मल प्रयोग गर्नुभएको र त्यसले माटोको गुणस्तर बिग्रिने हुँदा सरकारले कम मल प्रयोग गरुन् भनेर मागको तुलनामा केही कम मल उपलब्ध गराउने गरेको कर्मचारीहरू बताउँछन् ।किसानको आवश्यकता र सरकारको नीतिका बिचमा तालमेल नहुँदा खेतीको मुख्य समयमा हरेक वर्ष मलको अभाव देखिने गरेको छ ।
अहिले चैते धानमा पनि फसल लाग्ने बेला भइसकेको छ । त्यसका लागि पनि मलको आवश्यकता छ । तर किसानले मल नपाउँदा धान खेती गर्ने किसान पनि प्रभावित भएका छन् । कानेपोखरी–६ की जितकुमारी राईले डेढ बिघामा मकै लगाएकि छन् ।
चार घण्टा लाइनमा बसेपनि मल नपाएपछि उनि गेटमै धर्ना बसिन । सहकारीले आकस्मिक भैपरी आउने भन्दै १० बोरा मल राखेर सकियो भनेको उनको गुनासो थियो । किसानहरूले ५० बोरा मल आएकोमा कर्मचारीले १० बोरा लुकाएर ४० बोरा मात्र वितरण गरेको आशङ्का गरे ।
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार देशभर वार्षिक साढे सात लाख मेट्रिक टन मलको माग छ, तर सरकारले करिब पाँच लाख मेट्रिक टन मात्र व्यवस्थापन गर्ने गरेको छ । कृषिसामग्री कम्पनी लिमिटेड कोशीप्रदेशका प्रमुख कमल पोखरेल अनुसार अहिले प्रदेशका लागि २ हजार ११५ मेट्रिक टन कोटा तोकिएको छ ।
युरिया मलको मौज्दात ११ हजार ५५५ मेट्रिक टन भए पनि सात हजार ५०० मेट्रिक टन ‘बफर स्टक’ मा छ ।“बफर स्टकको मल सङ्घीय सरकारको अनुमतिबिना चलाउन पाइँदैन,” पोखरेलले भने । साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा पनि ६० हजार ३२२ बोरा युरिया र एक लाख १८ हजार बोरा डिएपी मौज्दात छ ।
तर, प्रशासनिक झन्झट र वितरणको फितलो संयन्त्रका कारण गोदाममा मल थुप्रिने र किसानको खेत भने रित्तै हुने अवस्था छ । साना किसान कृषि सहकारी संस्था बयरवनकी अध्यक्ष यसोदा लिम्बूले पर्याप्त मल नहुँदा समस्या आएको दाबी गरिन । “जम्मा ४५ बोरा युरिया आएको थियो, १० केजीका दरले बाँड्दाबाँड्दै सकियो,” उनले भनिन ।
