रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सुरक्षामा क्रेमलिनले व्यापक कडाइ गरेको युरोपेली गुप्तचर निकायको एक रिपोर्टले जनाएको छ ।उच्च तहका रुसी सैन्य अधिकारीहरूको लगातार हत्या र सम्भावित ‘कू’ को डरका कारण राष्ट्रपति निकटका कर्मचारीहरूको घरमा समेत निगरानी प्रणाली जडान गरिएको सीएनएनले जनाएको छ ।
रिपोर्टअनुसार पुटिनका भान्से, अंगरक्षक र फोटोग्राफरलाई सार्वजनिक यातायात प्रयोग गर्न रोक लगाइएको छ । साथै, पुटिनलाई भेट्न आउने व्यक्तिहरूको दुई चरणमा सुरक्षा जाँच गरिन्छ भने उनका निकट कर्मचारीहरूले इन्टरनेट नभएका फोन मात्र प्रयोग गर्न पाउँछन् ।
डिसेम्बरमा एक शीर्ष जनरलको हत्या भएपछि रुसको सुरक्षा निकायभित्र विवाद बढेको र त्यसपछि यी नयाँ सुरक्षा उपाय लागु गरिएको रिपोर्टमा उल्लेख छ । सीएनएनका अनुसार। यसले क्रेमलिनभित्र बढ्दो डर र अविश्वास देखाउँछ । रिपोर्टमा रुस आर्थिक समस्या, जनअसन्तुष्टि र युक्रेन युद्धका चुनौतीसँग जुधिरहेको उल्लेख गरिएको छ ।
रुसी सुरक्षा अधिकारीहरूले पुटिनले भ्रमण गर्ने स्थानहरूको संख्या पनि घटाएका छन् । रिपोर्टअनुसार उनको परिवारले मस्को क्षेत्र र सेन्ट पिटर्सबर्गबीच रहेको ग्रीष्मकालीन निवास ‘वाल्दाइ’ जानसमेत छोडेको छ ।सन् २०२५ मा केही भ्रमण गरे पनि यस वर्ष पुटिनले कुनै सैन्य अखडाको भ्रमण नगरेको दाबी गरिएको छ । यी गतिविधि लुकाउन क्रेमलिनले पहिले नै रेकर्ड गरिएका तस्बिर र भिडियो सार्वजनिक गर्ने गरेको पनि रिपोर्टमा उल्लेख छ ।
सन् २०२२ मा युक्रेन युद्ध सुरु भएयता पुटिनले मस्कोबाट टाढा ब्ल्याक सी नजिकका अत्याधुनिक बंकरहरूमा लामो समय बिताउने गरेको बताइएको छ । पश्चिमी मुलुकहरूको अनुमानअनुसार रुसले प्रतिमहिना करिब ३० हजार सैनिक गुमाइरहेको छ । युद्धको आर्थिक असर पनि अब स्पष्ट देखिन थालेको रिपोर्टमा उल्लेख छ ।
प्रमुख सहरहरूमा बारम्बार हुने मोबाइल डाटा अवरोधले पुटिन समर्थक सम्भ्रान्त वर्ग समेत असन्तुष्ट बनेको बताइएको छ । यसले युद्धको असर अब सहरी सम्पन्न वर्गसम्म पुग्न थालेको संकेत गरेको विश्लेषण गरिएको छ ।
मार्च २०२६ देखि नै क्रेमलिन र स्वयं पुटिन संवेदनशील जानकारी चुहावट हुने सम्भावना तथा राष्ट्रपतिविरुद्ध हुन सक्ने षड्यन्त्र वा ‘कू’ को प्रयासप्रति चिन्तित रहेको रिपोर्टमा उल्लेख छ । विशेषगरी उच्च राजनीतिक वर्गका सदस्यहरूले ड्रोनमार्फत हत्या प्रयास गर्न सक्ने सम्भावनाप्रति सतर्कता बढाइएको बताइएको छ ।
रिपोर्टमा पुटिनका पूर्वविश्वासपात्र तथा पूर्वरक्षामन्त्री सेर्गेई सोइगुको नाम पनि उल्लेख गरिएको छ । रिपोर्टमा भनिएको छ, “किनारा लगाइएका सोइगु अझै पनि सैन्य उच्च कमाण्डभित्र प्रभावशाली रहेकाले उनी ‘कू’ को जोखिमसँग जोडिएका छन् ।”
सोइगुका पूर्वउपमन्त्री रुस्लान सालिकोभ पक्राउ परेपछि सोइगुको अवस्था थप कमजोर बनेको रिपोर्टमा उल्लेख छ । उनी स्वयं पनि अनुसन्धानको घेरामा पर्न सक्ने सम्भावना रहेको जनाइएको छ । गत वर्षको अन्त्यमा पुटिनसँग भएको एक बैठकमा शीर्ष सैन्य अधिकारीहरूबीच चर्को विवाद भएको र त्यसपछि नयाँ सुरक्षा उपाय थपिएको गुप्तचर रिपोर्टले दाबी गरेको छ ।
सन् २०२५ को डिसेम्बर २२ मा मस्कोमा लेफ्टिनेन्ट जनरल फनिल सर्वारोभको हत्या भएपछि पुटिनले सुरक्षा प्रमुखहरूको आपत्कालीन बैठक बोलाएका थिए । बैठकमा जनरल स्टाफ प्रमुख भ्यालेरी गेरासिमोभले आफ्ना अधिकारीहरूको सुरक्षा गर्न नसकेको भन्दै संघीय सुरक्षा सेवा प्रमुख अलेक्जेन्डर बोर्तनिकोभको आलोचना गरेका थिए । जवाफमा बोर्तनिकोभले स्रोत र जनशक्तिको कमी रहेको बताएका थिए ।
रिपोर्टअनुसार बैठकको अन्त्यमा पुटिनले थप १० जना वरिष्ठ कमाण्डरलाई राष्ट्रपतिको सुरक्षा सेवामार्फत सुरक्षा दिन निर्देशन दिएका थिए । विश्लेषकहरूका अनुसार, पश्चिमी गुप्तचर निकायले यस्तो गोप्य जानकारी सार्वजनिक गर्नुको उद्देश्य क्रेमलिनभित्र अस्थिरता र आपसी अविश्वास बढाउनु हुन सक्छ ।
