ऐतिहासिक लिगलिगे दौड विवादको चपेटामा

अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य
ऐतिहासिक लिगलिगे दौड विवादका कारण विगत दुई बर्षदेखि अवरुद्ध हुन पुगेको छ । पालुङटार नगरपालिका र लिगलिगकोट बिकास अभियान बीच आयोजक को बन्ने भन्ने होडवाजीका कारण उत्पन्न विवादले प्रतियोगिता हुन नसकेको हो । यसअघि लिगलिगकोट बिकास अभियानले फुलपातीको अघिल्लो दिन पारेर दौड प्रतियोगिता गर्दै आएको थियो ।

तर गत बर्ष नगरपालिका आफैले अपनत्व लिएर दौड प्रतियोगिता गर्ने भएपछि अभियानले असन्तुष्टी जनायो । आफूहरुसँग सामान्य छलफलसमेत नगरी दौड गर्न लागेको भन्दै अभियानका अध्यक्ष रानाले आपत्ति जनाए । ‘२०६७ सालदेखि मानापाथी गरेर भएपनि यत्तिका बर्ष हामीले निरन्तर दौड गर्दै आयौँ । राष्ट्रिय रुपमा चर्चा कमाउने हैसियत बनायो,’ उनले भने, ‘तर गत बर्ष हामीसँग सामान्य छलफल पनि नगरी नगरपालिका आफैले दौड गर्ने निर्णय गर्याे ।’ संरक्षकको रुपमा दौडमा सहयोग गर्न आग्रह गर्दा नगरपालिका नमानेको उनले जानकारी गराए ।

आयोजककै बिषयमा विवाद चुलिदै गएपछि पालुङटार नगरपालिकाले अन्ततः दौड नगर्ने निर्णय गर्याे । दौड गर्ने तयारीका साथ अनुमति लिन अभियान नगरपालिको पुग्यो । तर नगरपालिकाले अनुमति नदिएको अभियानका अध्यक्ष रानाले बताए । ‘नगरपालिकाले नगर्ने भएपछि हामी गर्छाैँ भनेर अनुमति लिन गयाँै, तर कार्यक्रम गर्न पाउदैनस् भनेर मेयरले अनुमति नै दिएनन् ,’ उनले भने । वडा कार्यालयले सिफारिस गर्दा समेत अनुमति नदिएको उनले गुनासो गरे । राजनीतिक प्रतिशोधका कारण आफूहरुलाई मेयरले अनुमति नदिएको उनको आरोप छ ।

उनका अनुसार यो बर्ष असोज १२ गते प्रतियोगिता गर्ने अभियानको तयारी थियो । अनुमतिका लागि नगरपालिका जाँदा मौखिक रुपमा मेयरले कार्यक्रम नगर्न भनेका उनको भनाइ छ । जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै पालिकाले एक महिना पालिकाभित्र ठूलो भेला हुने गरी कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेपछि दौड हुन सकेन । अभियानलाई दौड गर्न नदिन मेयरले हतारमा उक्त निर्णय गराएको रानाले आरोप लगाए ।

‘दौडका लागि हाम्रो संस्थाकै नाममा यो बर्ष राष्ट्रिय खेलकुद परिषदबाट रातो कितावमै योजना समावेश गरेर दश लाख बजेट विनियोजन भएको थियो, हामीले सम्झौता पनि गरेर आइसकेका थियौँ । तर नगरपालिकासँग अनुमति माग्न जाँदा कार्यक्रम नगर् भन्यो,’ उनले भने । पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले जेनजी आन्दोलनको प्रभावका कारण कार्यक्रम नगर्ने निर्णय गरिएको बताए । गतबर्ष अभियानले अवरोध गरेका कारण दौड नगरेको उनले जानकारी दिए । अबका दिनमा पालिकाले अपनत्व लिएर दौड संचालन गर्ने बताउँदै उनले थपे, ‘सरकारले अपनत्व लिएर दौड गर्छु भन्दा सबैले सहयोग गर्नुपर्नेमा सरकारले गर्न पाउँदैन हामीले गर्नुपर्छ भन्नु गलत हो ।’

दौड संचालनका लागि आफ्नो संयोजकत्वमा पर्यटन बिकास समिति पनि गठन भइसकेको उनले जानकारी दिए । बिशेष कार्यक्रमसहित दौड गर्ने पालिकाको योजना छ । यता अभियानले चैते दशैको अवसरमा दौड गर्ने तयारी भइरहेको जनाएको छ । इतिहाससँग जोडिएको दौड भएकाले फुलपाती अघिल्लो दिन कार्यक्रम हुनुपर्ने भएपनि देशको राजनीतिक परिस्थितिका कारण यो बर्ष फरक समयमा दौड गर्ने तयारी गरिएको अभियानका अध्यक्ष रानाले बताए ।

तर नगर प्रमुख चिन्तनले भने अवका दिनमा उक्त कार्यक्रम संस्था बिशेषले नभइ नगरपालिकाले गर्ने जिकिर गरे । ‘देशको राजनीतिक परिस्थिति हेरेर यो बर्ष कार्यक्रम गर्ने नगर्ने निर्णय गर्छौँ,’ उनले भने । नेपाल एकीकरण अघि बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । पहिले राजा हुने परम्पराबाट २०६७ सालदेखि पालुङटारमा दौड प्रतियोगिता सुरु भएको हो । चेपे दोभानबाट लिगलिगकोटको कालिका मन्दिर सम्म दौड हुने गर्छ । तर विवादका कारण विगत दुई बर्षदेखि दौड प्रतियोगिताले निरन्तरता पाउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *