जेनजी आन्दोलन’ का क्रममा मङ्गलबार काठमाडौँका दुई अस्पतालमा थप चार जनाको निधन भएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा तीन जना र तारकेश्वर सिटी अस्पतालमा एक जनाको निधन भएको हो ।
सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले दिएको जानकारी अनुसार मङ्गलबार दिउँसो उपचारमा आएका प्रदर्शनकारीमध्ये तीन जनाको निधन भएको हो । कार्यकारी निर्देशक डा. रेग्मीका अनुसार मङ्गलबार ११५ जना घाइते अस्पतालमा उपचारका लागि आएका थिए । उनले तीन जना घाइतेको निधन भएको जानकारी दिँदै उनीहरू सबै पुरुष रहेको बताए । “उहाँहरूको पहिचान हुन सकेको छैन, डा. रेग्मीले भने , आकस्मिक कक्षमा कतिले उपचार गराइरहेका छन् भन्ने लेखाजोखा गर्न सकिएको छैन ।” अघिल्लो दिन अस्पतालमा आएका २७ जनाको शल्यक्रिया गरिएको छ ।
सिभिल अस्पतालले मङ्गलबार ओपिडी (बहिरङ्ग) सेवा बन्द गरेर आन्दोलनमा घाइते भएका व्यक्तिको मात्र उपचार गरेको छ । डा. रेग्मीले अस्पताल आएका २२७ को उपचार भइरहेको बताउदै दिउँसो १२ बजेसम्मको तथ्याङ्क अनुसार ४२ जना रेफर गरिएको, १५५ जनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । यता तारकेश्वर सिटी अस्पतालमा एक जना घाइतको निधन भएको छ । अस्पतालका अध्यक्ष डा. ऋषिकुमार कार्कीले उपचारमा आएका १५ भन्दा बढी घाइतेमध्ये एक जनाको निधन भएको बताए । निधन हुनेमा २५ वर्षीय धीरज श्रेष्ठ हुन । श्रेष्ठको घाँटीमा गोली लागेको थियो ।
अन्य दुई जना घाइतेको शल्यक्रिया गरेर गोली निकालिएको छ र उनीहरूको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ ।
यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेहरूको अघिल्लो दिनदेखि निरन्तर शल्यक्रिया भइरहेको छ । अस्पतालका प्रमुख डा. बद्री रिजालले २६ जना घाइते आएको बताउलै दुई जनाको शल्यक्रिया भएको जानकारी दिए । अघिल्लो दिन राति मात्र २३ जनाको शल्यक्रिया गरेको जानकारी दिदै उनले मङ्गलबार दिउँसो थप सात जनाको शल्यक्रिया गरिएको बताए । यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुनै तथ्याङ्क दिन सकेको छैन ।
स्वास्थ्य मन्त्रालयका डा. नवराज जोशीले दिएको जानकारी अनुसार स्वास्थ्य मन्त्रालयमा समेत प्रदर्शनकारीले आगजनी गरेका कारण देशभरको तथ्याङ्क सङ्कलन गर्न कठिन भएको छ । “जोगिएर घर आउनै नसक्ने अवस्था आयो,” डा. जोशीले भने , “मन्त्रालयले मातहतका अस्पताललाई घाइतेको उपचार निःशुल्क गर्नका लागि निर्देशन दिइसकेको र त्यही अनुसार घाइतेको उपचार भइरहेको छ ।”
यस्तै वीर अस्पतालमा १० जना घाइतेको उपचार भइरहेको छ । यता त्रिवि शिक्षण अस्पतालमा २२ जना घाइते उपचारका लागि आएका छन् । अस्पतालका कार्यकारी निर्देशक प्राडा सुभाष आचार्यले घाइतेहरूको उपचार भइरहेको जानकारी दिँदै तीन जनाको शल्यक्रिया गरिएको बताए । यसै गरी काठमाडाै मेडिकल कलेजमा मङ्गलबार १६ जना घाइतेको उपचार भइरहेको अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए ।
