आउन थाल्यो मल

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बालीको सिजन सकिन थालेपछि बजारमा रासायनिक मल भित्रिन थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कोटामध्येको रासायनिक मल भित्रिन थालेको हो । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे्डिङ कर्पोरेसनले रासायनिक मल ल्याउन थालेका हुन् । कर्पोरेसनले ११ हजार तीन सय मेट्रिक टन डिएपी र कम्पनीले तीन हजार मेट्रिक टनमध्ये दुई हजार पाँच सय मेट्रिक टन डिएपी भित्रिइसकेको जनाएका छन् ।

भदौ दोस्रो साता बितिसकेकाले अब आउने मल धानबालीका लागि भन्दा पनि हिउँदे बालीका लागि उपयुक्त हुने देखिन्छ । यसपालि बजार माग अनुसार मल आयात हुँदा किसानले धान रोप्ने बेला मलको अभाव खेपेका थिए ।कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले थप ६० हजार मेट्रिक टन युरिया पानीजहाजमा लोडिङ भई कोलकाता आउने क्रममा रहेको जानकारी दिनुभयो ।

कम्पनीले चालु आवका लागि चार लाख २० हजार मेट्रिक टन मल खरिदका लागि कोटा पाएकोमा हालसम्म तीन लाख २९ हजार मेट्रिक टन मल खरिदका लागि टेन्डर आह्वान गरिसकेको जनाएको छ । कम्पनीसँग हाल १७ हजार मेट्रिक टन युरिया, २१ हजार मेट्रिक टन, चार हजार चार सय मेट्रिक टन पोटास मौज्दात छ ।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले ११ हजार तीन सय मेट्रिक टन डिएपी मल आउन सुरु गरेको जनाएको छ । कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत सङ्केत भट्टराईले ११ हजार तीन सय मेट्रिक टन डिएपीमध्ये केही मल भित्रिइसकेको र बाँकी आउने क्रममा रहेको जानकारी दिनुभयो ।

यस वर्ष कर्पोरेसनलाई एक लाख ८० हजार मेट्रिक टन मलको कोटा निर्धारण गरिएको छ । यसमध्ये ९५ हजार मेट्रिक टनका लागि टेन्डर आह्वान गरिसकेको कर्पोरेसनले जनाएको छ ।

यस वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले लक्ष्य अनुसार मल खरिद गर्न नसक्ने देखिएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा प्रतिमेट्रिक टन रासायनिक मलमा दुई सय देखि तीन सय अमेरिकी डलरले मूल्य बढेको उहाँले जानकारी दिनुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेडले ४१ हजार २६० र साल्ट ट्रेडिङले २७ हजार ९६६ मेट्रिक टन मल ल्याउने क्रममा रहेको जनाएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आवमा छ लाख मेट्रिक टन मल खरिद गर्ने लक्ष्य रहेकोमा चार लाख २० मेट्रिक टनका लागि टेन्डर आह्वान गरेको हो । चालु आवमा मल खरिदका लागि २८ अर्ब ८२ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *