अस्ट्रेलियाको प्रविधि नीतिमा परिवर्तन, दुर्व्यवहार रोक्न कडा कदम

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सरकारले सामाजिक मर्यादा र नागरिक सुरक्षालाई मध्यनजर गर्दै प्रविधिको दुरुपयोग रोक्नका लागि आवश्यक कदम चाल्ने घोषणा गरेको छ । सरकार विशेषरूपमा यस्ता प्रविधिमा नियन्त्रण लगाउन अग्रसर भएको छ, जसले बनावटी अश्लील सामग्री उत्पादन गर्न सक्ने वा लुकीछिपी मानिसलाई पछ्याउन प्रयोग गरिन्छ ।

सञ्चार मन्त्री अनिका वेल्सले एक औपचारिक वक्तव्य जारी गर्दै भनेकि छन् , “हाम्रो समाजमा प्रविधिको सकारात्मक उपयोगको प्रशस्त सम्भावना छ । तर जसले व्यक्तिको मर्यादा, गोपनीयता र मानसिक स्वास्थ्यमा प्रतिकुल असर पार्छ, यस्ता प्रविधिको कुनै स्थान हुनु हुँदैन । विशेष गरी बालबालिकाको सुरक्षालाई हामीले सबैभन्दा पहिलो प्राथमिकतामा राख्नुपर्छ ।”

मन्त्री वेल्सका अनुसार हाल यस्ता प्रविधि सजिलै उपलब्ध छन् र तिनीहरूले व्यक्तिमा तत्काल र दीर्घकालीन असर पारिरहेका छन् । त्यसैले सरकारले यिनको प्रयोगमा आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय लिएको हो । यसअघि अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नीति घोषणा गरिसकेको छ, जुन आगामी डिसेम्बर महिनादेखि लागु हुने छ ।

यसैको निरन्तरतामा, नयाँ नियमले पनि प्रविधिको दुरुपयोग रोक्न प्रविधि कम्पनीलाई उत्तरदायी बनाउने छ । सङ्घीय सरकार अन्तर्गत कार्यरत डिजिटल सुरक्षा आयोगकी प्रमुख जुली इनम्यान ग्रान्टले पछिल्ला १८ महिनामा १८ वर्षभन्दा कम उमेरका बालबालिकासँग सम्बन्धित बनावटी अश्लील तस्बिरसम्बन्धी उजुरीको सङ्ख्या अघिल्ला सात वर्षको तुलनामा दोब्बर भएको जानकारी गराइन् । सरकारले प्रविधिको सकारात्मक पक्षलाई संरक्षण गर्दै, नकारात्मक र हानिकारक प्रयोगलाई नियन्त्रणमा ल्याउने लक्ष्यका साथ यो पहल अघि बढाएको स्पष्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *