नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले इन्डोनेसियामा रहेको ‘काष्ट्रेन्ज पिरामिड’ हिमशिखरको सफल आरोहण गरेका छन् । न्डोनेसियाको पपुआ प्रान्तमा पर्ने उक्त हिमशिखरमा आरोही पाण्डेले स्थानीय समय अनुसार आइतबार बिहान ९:३० बजे चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झन्डा फहराएका थिए ।
सेभन समिटको यस विशेष अभियानमा उनको यो पाँचौँ हिमाल आरोहण हो भने विभिन्न समयमा दर्जन बढी हिमाल उनले चढिसकेका छन् ।सेभेन समिट अभियानमा रहेका उनले अब उत्तर अमेरिकी महादेश अन्टार्कटिका महादेश र अस्ट्रेलियाको हिमाल आरोहण गर्न बाँकी रहेको बताए । उपयुक्त मौसममा संयुक्त राज्य अमेरिकामा रहेको डेनाली हिमाल, अन्टार्कटिकाको भिन्सन र अस्ट्रेलियाको कोसिउज्कोको आरोहण गर्ने उनले सुनाए ।
सन् २०१८ मा पहिलोपटक सगरमाथा चढेपछि आफूमा सेभेन समिटको आकांक्षा पलाएको बताउने उनले अन्य महादेशका हिमालहरु आरोहण गरिसकेर पुनः नेपालमै आएर सगरमाथामा यस अभियानको समापन गर्ने योजना रहेको बताए ।
