किसानका लागी छैन मलः मलको हाहाकार

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

धान, मकै वा गहुँ जुनसुकै बाली लगाउने बेला किसानले सिँचाइ, मल र बिउ जस्ता आधारभूत सुविधा पाउँदैनन् । यस वर्ष पर्याप्त वर्षा नहुँदा धान रोप्न नपाएका किसानले जसोतसो रोपेको र रोप्न लागेको धानमा मल हाल्न पाएका छैनन् । यसका लागि मलको अपर्याप्तताभन्दा पनि अव्यवस्था जिम्मेवार छ । पहाडी क्षेत्रमा धान रोपाइँ सकिए पनि तराईमा भने वर्षा ढिला हुँदा अहिले पनि रोपाइँ धमाधम छ । साउन अन्तिममा रोप्ने किसानले पनि पर्याप्त मल पाउन सकेका छैन ।

प्रदेश सरकार र स्थानीय तहले कोटा निर्धारण गरेर सहकारीमार्फत रासायनिक मल वितरण गर्नुपर्ने बहुनिकाय संलग्नता असाध्यै झन्झटिलो व्यवस्था मलको कृत्रिम सङ्कट बढाउने मूल कारण देखिएको छ । माग अनुसार मलको कम आपूर्ति हुनु, वितरण प्रणालीमा समस्या हुनु र सहकारीले समयमा कोटा अनुसार मल लिन नआउँदा किसानले समयमा मल पाउन नसकेको सरकारी अधिकारीको भनाइ छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा पाँच लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने लक्ष्य लिएकामा चार लाख ८८ हजार ७६६ मेट्रिक टन मल आयात गरेको छ । मल खरिदका लागि गत आवमा २७ अर्ब ९५ करोड रुपियाँ विनियोजन गरिएको थियो ।

मल आयातको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट्र टे«डिङ कर्पोरेसनले कोटा अनुसार रासायनिक मल आयात गर्न सकेका छैनन् । कम्पनीलाई ७० प्रतिशत र कर्पोरेसनलाई ३० प्रतिशत मल आयातको कोटा निर्धारण गरिएको थियो । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्दा बजेट अभावले कोटा अनुसार आयात गर्न नसकेको दुवै कम्पनीको दाबी छ ।

मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले युद्धका कारणले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा कोटा अनुसार मल आयात गर्न नसकिएको जानकारी दिए  । उनले भने , “बजारमा मलको माग उच्च छ, माग अनुसार आपूर्ति गर्न सकिएको छैन । जसका कारण कोटा अनुसार मल आयात गर्न सकिएको छैन ।”

कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक विष्णु पोखरेलले गत आवमा तीन लाख ८५ हजार मेट्रिक टन मल आयात गर्ने कोटा रहेकोमा तीन लाख ४६ हजार ६५२ मेट्रिक टन रासायनिक मल आयात गरिएको जानकारी दिदै भने  गत आवमा अन्तर्राष्ट्रिय बजारमा युरियाको ३० प्रतिशत र डिएपीको ३५ प्रतिशत मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा हाल प्रतिमेट्रिक टन युरिया छ सय अमेरिकी डलर र डिएपी प्रतिमेट्रिक टन ९५० डलर रहेको छ । बजारमा माग उच्च भएको र सो अनुसार आयात गर्न नसक्दा मल अभाव हुने गरेको उनको भनाइ छ ।

बजारमा मलको माग धेरै रहेको र सहकारी संस्थाले समयमा मल लिन नआउँदा किसानले भनेका बेला मल नपाउने गरेको , किसानले चार बोरा खोज्दा तीन बोरासम्म मल पाउन पनि समस्या रहेको छ ।

कोलकाताबाट थप १६ हजार छ सय मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी साउनभित्र आउने तयारीमा रहेको उनको भनाइ छ । कोलकातापारि ६० हजार मेट्रिक टन युरिया मल रहेकाले भदौ पहिलो साताभित्र आइपुग्ने हुँदा धानबाली र तरकारीबालीका लागि प्रयोग गर्न सकिने छ । कम्पनीले हालसम्म दुई लाख छ हजार सात सय मेट्रिक टन मल वितरण गरेको जनाएको छ । दैनिक एक हजार पाँच सयदेखि एक हजार सात सय मेट्रिक टन वितरण गरिरहेको कम्पनीले जनाएको छ । हाल १७ हजार पाँच सय मेट्रिक टन मल मौज्दात रहेको कम्पनीकाे भनाइ छ ।

यस्तै साल्ट्र टे्डिङ कर्पोरेसनले गत आवमा एक लाख ६५ हजार मेट्रिक टन रासायनिक मल ल्याउने कोटा पाए पनि एक लाख ४२ हजार मेट्रिक टन आयात गरेको जनाएको छ । कम्पनीले ९४ हजार १९० मेट्रिक युरिया, डिएपी ४२ हजार ८५० मेट्रिक टन र पाँच हजार ७४ मेट्रिक टन डिएपी आयात गरेको छ । कर्पोरेसनसँग हाल १४ हजार ८६२ मेट्रिक टन मल मौज्दात रहेको छ ।

कोलकाताबाट थप पाँच हजार मेट्रिक टन युरिया नेपाल आउने क्रममा रहेको कर्पोरसनले जनाएको छ । यस्तै ५१ हजार डिएपी कोलकातामा नेपाल आउनका लागि लोडिङ हुने व्रmममा रहेको कर्पोरेसनले जनाएको छ । चालु आव २०८२/८२ को थप १० हजार मेट्रिक टन डिएपी आउने क्रममा रहेको कर्पोरेसनले जनाएको छ । कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत सङ्केत भट्टराईले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले लक्ष्य अनुसार मल आयात गर्न नसकिएको जानकारी दिए ।

सरकारले बर्सेनि रासायनिक मल खरिद खरिदका लागि अनुदानमा ठुलो रकम बजेट विनियोजन गरे पनि बजारमा माग अनुसार आयात नहुँदा बर्सेनि किसानले धान रोप्ने बेला अभाव झेल्नु परेको छ । सहकारीमार्फत किसानलाई मल वितरण हुने गरेको छ । हाल बजारमा प्रतिकेजी युरिया १५ रुपियाँ, डिएपी ४४ र पोटास ३२ रुपियाँमा बिक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *