नागरिक उन्मुक्ति पार्टीका बहुमत संस्थापक सदस्यहरूले अध्यक्ष रञ्जिता श्रेष्ठप्रति खेद प्रकट गर्दै राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। आइतबार बानेश्वरमा बसेको बैठकले अध्यक्ष श्रेष्ठले बैठक बोलाउने निर्णय नगरेर अपमान गरेको निष्कर्ष निकालिएको सहभागी एक नेताले बताए।
‘उहाँ (अध्यक्ष श्रेष्ठ)लाई इमेल, मोबाइल र ह्वाएपमार्फत बैठक बोलाउने विषयमा जानकारी गराए पन उहाँले बेवास्ता गर्नुभयो। बहुमत सदस्यको मागलाई उहाँले अपमान गर्नुभयो। आजको बैठकले उहाँप्रति खेद प्रकट गर्दै राष्ट्रिय भेला बोलाउन निर्णय गरेको छ,’ ती नेताले अन्नपूर्णसँग भने।
नाउपाले साउन १४ गतेका लागि राष्ट्रिय भेला आह्वान गरेको छ। संस्थापक सदस्यसमेत रहेका दामोदर पण्डितको अध्यक्षतामा बसेको बैठकले अर्का सदस्य रामलाल डंगौरा थारुको अध्यक्षतामा भेला गर्ने निर्णय गरिएको छ।बैठकमा दलका संस्थापक केन्द्रीय सदस्यहरू, निर्वाचित जनप्रतिनिधि तथा सांसदहरुलाई बोलाउने निर्णय गरिएको छ। बैठकमा संस्थापक २१ मध्ये १३ जना सहभागी थिए।
नाउपा अध्यक्ष श्रेष्ठले आजमात्रै आफू निकट भनिएका पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएकी थिइन्।
