ओलीको एकवर्षे कार्यकालमा २ मन्त्री १ राज्यमन्त्री निकालिए

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको एक बर्षमा ३ मन्त्री निकालिएका  छन् । शपथ खाएको एक वर्ष पुगेको दिन नै घुस डिल गरेको आरोप लागेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा बुझाए ।  ०८१ असार ३० गते नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री भएका थिए ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा गुप्ताले नखाएको विषबाट आफू शिकार भएको भन्दै आरोप’ लगाउदै ,अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर पदबाट राजीनामा दिएको बताए ।

घुस डिल प्रकरणमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारी समेत मुछिएका छन् । तर घुस डिल प्रकरणमा आफू संलग्न नभएको अधिकारीले जिकिर गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा उनले आरोपको पुष्टि गर्न चुनौती दिएका थिए ।

यसअघि वैशाख ८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी थिइन् । विद्यालय शिक्षा ऐन माग गर्दै चैत २० गते नेपाल शिक्षक महासंघको आह्वानमा काठमाण्डू केन्द्रित आन्दोलन चर्किरहेको बेला भट्टराईले राजीनामा दिएकी थिइन् । विद्यालय विधेयक संसदबाट अगाडि बढाउने विषयमा प्रधानमन्त्री ओलीकै असहयोग भएपछि भट्टराईले राजीनामा दिन बाध्य भएकी टिप्पणी हुँदै आएको छ ।

यद्यपि उनले अस्वस्थताको कारण राजीनामा दिएको बताउने गरेकी छन् । गुप्ता र भट्टराई दुवै जना एमालेबाट मन्त्री भएका थिए । यस्तै वैशाख १० गते उर्जाराज्यमन्त्री कान्छामान तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका थिए ।

कांग्रेसबाट मन्त्री भएका तामाङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त भएकोमा असन्तुष्ट देखिएका थिए । कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमा तामाङलाई बर्खास्त गरिएको दाबी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *