पशुपति क्षेत्र विकास कोष अन्तर्गतको १८ हजार रोपनीभन्दा बढी जग्गामध्ये विभिन्न स्थानमा भूमाफियाको कब्जा र केही स्थानमा अलपत्र छ । कोषले गठन गरेको पशुपतिनाथको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिको प्रतिवेदन अनुसार काठमाडौँ, सिन्धुपाल्चोक, मोरङ, सुनसरीसहित विभिन्न जिल्लामा पशुपतिनाथका नाममा रहेका जग्गा अवैध रूपमा भोगचलनमा रहेको देखिएको हो ।
समितिको अध्ययन प्रतिवेदनमा जग्गा संरक्षणका लागि तत्काल थप अध्ययन गर्न पनि भनिएको छ । जग्गा खोजीका लागि गठित समितिको प्रतिवेदनमा चाबहिलको जोसमणि मठ, गोपीकृष्ण हलनजिकैको नौ रोपनी, बालाजुको नौ रोपनी, सिन्धुपाल्चोकको चार सय रोपनी र गोलढुङ्गाको १५० रोपनी जग्गालाई कोषमातहत ल्याउन तत्काल छानबिन समिति गठन गरी कानुनी प्रक्रिया थाल्नुपर्ने निष्कर्ष निकालिएको छ ।
पशुपतिनाथको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिका संयोजक एवं कोषका पूर्व सदस्य सचिव डा. मिलनकुमार थापाले कोष मातहतका तीन कार्यालय र गुठी संस्थान अन्तर्गत पशुपतिनाथसँग १८ हजार ३८२ रोपनी दुई आना दुई दाम रहेको छ ।
उनले भने , “आराध्यदेव भगवान् पशुपतिनाथको नाममा रहेका सयौँ रोपनी जग्गा अलपत्र छन् । संरक्षणका लागि प्रयास गरिएकै हो तर भूमाफियाको कब्जा र तत्कालीन राजनीतिक नेतृत्वको दबाबका कारण केही स्थानको जग्गा कोषमातहत ल्याइए पनि सबै क्षेत्रका सन्दर्भमा त्यो सम्भव भएन ।”
पूर्व सदस्य सचिव डा. थापाले कोषमातहतका तीन कार्यालयको जग्गामध्ये दर्ता प्रमाणित जग्गाको क्षेत्रफल तीन हजार ६६७ रोपनी चार आना तीन दाम रहेको बताए । उनका अनुसार साबिक लगतको दर्ता प्रमाणित हुन बाँकी जग्गा २३१ रोपनी १० आना एक दाम रहेको छ । प्रतिवेदनमा एक हजार १६१ रोपनी १४ आना तीन दाम जग्गा ९९ वर्षका लागि सम्झौता गरी त्रिभुवन विमानस्थल र गल्फ कोर्सलाई भोग चलनमा दिएको छ । मोही तारागाउँ रिजेन्सी होटलले १७ रोपनी जग्गा भोग चलन गरिरहेको उल्लेख छ ।
पशुपति क्षेत्र विकास कोष, मालपोत विभाग, नापी विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भूमिसुधार मन्त्रालय, गुठी संस्थान र विज्ञसहितको ११ सदस्यीय अध्ययन समितिले २०७५ मा बृहत् अध्ययनपछि प्रतिवेदन तयार पारेको हो ।
प्रतिवेदनमा २०५९ वैशाख १५ देखि २०७० जेठ ३० गतेसम्ममा पशुपति क्षेत्रभित्रसहित, तिलगङ्गास्थित बी–११, बी–१२, बी–१३ तथा भण्डारखाल, सिफल चौर, कैलाश, पशुपतिनाथ मन्दिर, गुह्येश्वरी मन्दिर, सत्तल, पाटी, शिवालय, मन्दिर, उद्यान, कोष कार्यालय, नदी, बगर, जङ्गलसहित सार्वजनिक क्षेत्रको एक हजार ५०५ रोपनी जग्गा अधिग्रहण गरिएको उल्लेख छ ।
पूर्व सदस्य सचिव डा. थापाले २०४६ मै सरकारले उपलब्ध गराएको गोठाटारस्थित बुट्यान पाखाको ५३४ रोपनी र गुठी संस्थानको वार्षिक प्रतिवेदन २०५६ मा उल्लिखित पशुपति क्षेत्रभित्रका गुठी संस्थानले असुल उपर गरी पशुपति क्षेत्रभित्र चलाउनुपर्ने महास्नान लगायतका विभिन्न गुठीको ११ हजार २६१ रोपनी रहेको बताए ।
प्रतिवेदन अनुसार पशुपति क्षेत्रभित्रका मन्दिर, देवालय, शिवालय तथा विभिन्न गुठीको गुठी संस्थानले असुल तहसिल गरी सोही संस्थानले पूजाआजा गर्ने गरेको जग्गाको क्षेत्रफल पशुपति महास्नान पोता गुठी अन्तर्गत १० हजार १९ रोपनीभन्दा बढी रहेको देखिएको छ ।
प्रतिवेदनमा छानबिन क्रममा रहेका जग्गाका सन्दर्भमा कोषको अधिकतम हितमा प्रयोग हुनुपर्ने र पशुपतिनाथका पूजा, जात्रासँग सम्बन्धित जग्गामध्ये केही पूजा, जात्रा कोष अन्तर्गत पशुपतिनाथ भण्डार तहविल, पशुपतिनाथ अमालकोट कचहरी र जयवागीश्वरी भण्डार तहविल कार्यालयले विक्रम संवत् १८६७, १८७० र १९७४ को लालमोहर तथा सनद सवालमा उल्लेख भएबमोजिम पूजाआजा, गुठीगाना तथा जात्रापर्व चलाउने गरी आएको उल्लेख छ ।
उक्त जग्गाबाहेक पशुपतिनाथसँग सम्बन्धित पूजा, जात्रा, गुठी, खान्गीसमेतका जग्गाको आयस्ना तथा गुठी, पूजा, जात्रा आदिको कार्य गुठी संस्थानले गरी आएकाले पशुपतिनाथसँग सम्बन्धित सम्पूर्ण पूजा, जात्रा, गुठी, खान्गी आदिलाई एकद्वार प्रणालीद्वारा कार्य गर्न–गराउन उपयुक्त हुने रायसहित प्रतिवेदन दिइएको छ ।
साथै प्रतिवेदनमा पशुपति गौशाला धर्मशालाको कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई पैसा र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गा पनि कोष मातहतमा ल्याउन सिफारिस गरिएको छ ।
अधिग्रहण गर्दा लापर्बाही भएकाले पशुपति क्षेत्र विकास कोषको जग्गा संरक्षणका लागि निरन्तर आवाज उठ्दै आएको छ । सांस्कृतिक एवं ऐतिहासिक सम्पदा संरक्षणका लागि पनि कोषमातहतको जग्गा संरक्षण अनिवार्य छ । पूर्वसदस्य डा. थापाका अनुसार विभिन्न समयमा जग्गा अधिग्रहण गर्दा गम्भीर लापर्बाही भएको पाइएको छ ।
उनका अनुसार , “चार आना दिनुपर्ने मोही वा अधिग्रहण गरेको जग्गाधनीलाई दुई गुणा बढी जग्गा दिएर कोषलाई हानि पु¥याउने काम भएको पाइएको छ । त्यसैले कोषको देशभरिको जग्गा खोजी गर्ने कार्यसँगै मोही र अधिग्रहण गर्दा सट्टाभर्ना दिँदा भएको अनियमितता पुनः छानबिन हुनु पर्छ । प्रतिवेदनको सार यही हो ।”
कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले पशुपतिनाथको जग्गाका सन्दर्भमा अध्ययन र छानबिनका लागि छलफल गर्ने बताउदै भने “भर्खर आएको छु, मैले बाहिरबाट पशुपति देखेको छु । तर भित्रबाट पशुपति देखिसकेको छैन । त्यसकारण यो सबै प्रश्नको जवाफ म अहिले तत्कालै दिन सक्दिनँ । म छलफलकै क्रममा छु ।”
त्यसै गरी गुठी संस्थान काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदीले पशुपतिनाथको जग्गा संरक्षण हुने प्रस्ट पारे उनले जग्गाका सन्दर्भमा अध्ययन पनि अघि बढाइएको बताए ।
