विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपालले तत्काललाई तीन अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले बुधबार फिफाले एन्फा महासचिव किरण राईलाई सम्बोधन गरेको पत्र सार्वजनिक गरेका हुन्।
फिफाले गत ११ असारमा एन्फालाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो। शाहले सार्वजनिक गरेको पत्र ११ असार (निलम्बन पछि)को रहेको छ। शाहले त्यही पत्र बुधबार मात्रै मिडियालाई दिएका हुन्।
निलम्बनपछि नेपालले एएफसी महिला च्याम्पियन्स लिग ०२६/२७ को खेल गुमाउने पक्का भएको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले मंगलबार सार्वजनिक गरेको प्रतियोगिताको सूचीमा नेपालका कुनै पनि क्लबको नाम समावेश थिएनन्।
यसअघि यो प्रतियोगिता विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ महिला टिमले खेलेको थियो। उसले लिग च्याम्पियन हैसियतमा यो प्रतियोगिता खेलेको थियो। यसपटक लिगका दुई खेल मात्रै भए पनि एपिएफलाई नै पठाउने तयारी एन्फाले गरेको थियो।
फिफा निलम्बनकै कारण नेपालले आगामी एएफसी यू–१७ महिला एसियन कप २०२७ छनोट र एएफसी यू–२० छनोट पनि गुमाउने भएको छ। यदि फिफाले चाँडै निलम्बन फुकुवा गर्याे भने यो प्रतियोगिता खेल्ने सम्भावना पनि छ।
एन्फा नेतृत्व र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ठुलै विवाद र किचलोका कारण फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै एन्फामाथि निलम्बन गरेको थियो। तहगत निर्वाचनसम्बन्धी विवादकै कारण नेपाली फुटबल पहलोपटक निलम्बन भएको हो। एन्फा नेतृत्व तहगत (जिल्ला र प्रदेश)को निर्वाचन नगर्ने पक्षमा तथा राखेप देशको नीति तथा ऐनअनुसार गर्नै पर्ने अडानमा रहेपछि यो अवस्था आएको हो।
जसका कारण नेपालले पाउने डेढ अर्बमाथिको अनुदान रोकिएको छ। त्यस्तै, महिला तथा पुरुषका सिनियर प्रतियोगिता, खेल, उमेर समूहका प्रतियोगिता, विभिन्न प्रशिक्षण कोर्सहरूको अनुदान रोकिएका छन्।
