सप्तरी रूपनी गाउँपालिका वडा नम्बर १ का चार जनाले बसोवास गरेको ५० वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् ।पुर्जा पाउनेमा स्थानिय फुलोदेवी साह, अनितादेवी साह, मो. सुलेमान मियाँ र केदारप्रसाद साह रहेका छन् । शनिबार एक कार्यक्रमबिच गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले उनिहरूलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरे ।
२०३२ सालमा तत्कालीन नकटी रायपुर गाउँपञ्चायतले स्थानीय १२ जना जग्गाधनीसँग रूपनी बजार बसाउन छ बिगा १० कट्ठा जग्गा प्रति कट्ठा लिएका थिए ।बसोवास गर्ने व्यक्तिले सो प्लट बापत तत्कालिन नकटी रायपुर पञ्चायत, त्यसपछि गाविस हुँदै रूपनी गाउँपालिकालाई प्रत्येक वर्ष कर दिँदै आएका छन् ।
गाउँपञ्चायतले बजार बसाउन १२ जना जग्गाधनीबाट जग्गा लिने सहमति गरेपछि सो जग्गालाई २०१ वटा प्लट बनाई प्रति प्लट दुई सयका दरले बसोवास गर्ने व्यक्तिबाट लिएर त्यहाँ बजार बसाएका थिए । तर, जग्गा त्यो प्लटमा बसोवास गर्ने व्यक्तिको नाममा नभई बजार बसाउन जग्गा दिएको व्यक्तिकै नाममा रहँदा समस्या सृजना भएको गाउँपालिका अध्यक्ष यादवले बताए ।
उनले जग्गावाला परिवारजनसँग समन्वय गरेर रुपनी बजारमा वर्षौं देखि बसोवास गर्दै आएका व्यक्तिलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने काम भइरहेको जानकारी दिए । रूपनीमा अहिले सम्म २५ जनाले जग्गाधनी पुर्जा पाएको र अझै १७६ जना बाँकी रहेको उनको भनाइ छ । ५० वर्षपछि जग्गाधनी पुर्जा पाएर एकदमै खुसी भएको ६७ वर्षीय मो. सुलेमान मियाँले बताए ।
आफू १७ वर्षको हुँदा बसोवास गरेको जग्गाको पुर्जा पाउन ५० लागेको उनले सुनाए । यस्तै, अनिता देवी साहले आफ्नो ससुराले नै प्लटमा बसोवास गर्न जग्गा किनेको र ५० वर्षपछि पुर्जा पाउँदा खुसी भएको सुनाइन् ।
