तनहुँमा लोपोन्मुख नौ प्रजातिका गिद्धको पुनरागमन

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् ।

व्यास नगरपालिका–१० दुम्सीस्थित व्यास गौसंरक्षण केन्द्रले गरेको सुरक्षित आहाराको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै गएका गिद्धहरूको पुनरागमन भएको हो ।केन्द्रमा अहिले रैथाने र आगन्तुक गरी नौ प्रजातिका करिब एक सयको सङ्ख्यामा गिद्धहरू दैनिक रूपमा देखिन थालेका छन् ।

नगरपालिकाले सञ्चालन गरेको गौसंरक्षण केन्द्रमा प्राकृतिक रूपमा मरेका गाईगोरुलाई सुरक्षित रूपमा गिद्धको आहारा (सिनो) बनाउने व्यवस्था मिलाएपछि यी चराको बासस्थान सुरक्षित बनेको हो ।

व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले भौतिक पूर्वाधारसँगै प्रकृति र प्राणीको सहअस्तित्व रक्षाका लागि यो मानवीय र प्राकृतिक अभियान चलाइएको बताए ।

नगर प्रमुख न्यौपानेले भने , “गौसंरक्षण केन्द्रमार्फत हामीले एउटा पूर्ण पर्यावरण चक्र (इकोसिस्टम) निर्माण गरेका छौँ, जहाँ गाई, गिद्ध, नदी र वनस्पति सबै आपसमा जोडिएका छन्। यस अभियानका लागि नगरपालिकाले वार्षिक १५ लाख रुपियाँसम्म बजेट विनियोजन गर्दै आएको छ ।”

केन्द्रमा कार्यरत कर्मचारीको पारिश्रमिक, गाईको दाना, औषधि र पूर्वाधार सुरक्षामा नगरपालिकाले निरन्तर लगानी गरिरहेको छ।

केन्द्रका अध्यक्ष तथा वडा नम्बर १० निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाका अनुसार नगरपालिकाले दूरगामी महत्वको क्षेत्रमा लगानी गरेर पर्यावरण र जनजीवन दुवैलाई सन्तुलित बनाएको छ । यस कार्यमा स्थानीय र राष्ट्रिय निकायको पनि उत्तिकै साथ छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सिनोलाई गिद्धका लागि सुरक्षित बनाउन प्राविधिक सहयोग गरिरहेको छ भने तनहुँ जलविद्युत आयोजनाले गिद्ध बस्नका लागि अग्ला खम्बाहरूको व्यवस्था गरिदिएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो सहयोगले गिद्धको बासस्थान सुरक्षित बनाउन मद्दत पुगेको छ ।

व्यास नगरपालिका–५ ढोडेनी स्थित माँ अम्बे अलौकिक कृषि फर्मकी सञ्चालिका कल्पना गौली व्यास नगरपालिकाको यो कार्यलाई नेपालकै अन्य स्थानीय तहका लागि प्रेरणादायी ‘संरक्षण मोडल’ भएको बताइन ।

गौशालामा मलमूत्रबाट बायोग्यासन्ट निर्माण गरी केन्द्रलाई स्वावलम्बी बनाइनु र हराइसकेका गिद्धहरूको पुनरागमन हुनुले व्यास नगरपालिकालाई ‘इको–मोडल’ नगरपालिकाको रूपमा स्थापित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *