कुवेतमा इरानको मिसाइल र ड्रोन आक्रमण, बहराइनमा पनि खतराको साइरन

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मध्यपूर्वमा तनाव चरम सीमामा पुगेको छ। इरानले आफ्ना छिमेकी मुलुक कुवेत र बहराइनलाई निशाना बनाउँदै भीषण मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। यस आक्रमणपछि कुवेतभर त्रास फैलिएको छ भने बहराइनमा समेत खतराको साइरन गुञ्जायमान भएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले यसअघि भएका अमेरिकी सैन्य कारबाहीको बदला स्वरूप यो कदम चालेको दाबी गरेको छ।

कुवेती सेनाका अनुसार इरानको तर्फबाट प्रहार गरिएका मिसाइल र आत्मघाती ड्रोनहरूलाई कुवेतको बलियो एअर डिफेन्स सिस्टम (हवाई सुरक्षा प्रणाली) ले हावामै ध्वस्त पारिदिएको छ। कुवेतले आफ्ना नागरिकहरूलाई सुरक्षा निर्देशनहरू पालना गर्न र संयमित रहन अपिल गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानले कुवेततर्फ प्रहार गरेका दुईवटा मिसाइलहरू बीच बाटोमै खसेका वा टुक्रिएका थिए।

 यसैबीच, बहराइनको गृह मन्त्रालयले पनि देशमा सुरक्षा अलर्ट जारी गर्दै चेतावनी साइरन बजाएको छ र नागरिकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। बहराइनतर्फ आएका तीनवटा इरानी मिसाइललाई अमेरिकी र बहराइनी एअर डिफेन्स फोर्सले सफलतापूर्वक बीचमै रोकेर नष्ट गरिदिएका छन्।

इरानको यस आक्रामक कदमपछि अमेरिकी सेनाले आत्मरक्षाका लागि इरानको ‘केशम टाप’मा रहेको सैन्य ग्राउन्ड कन्ट्रोल स्टेशनमा हवाई आक्रमण गरी नष्ट गरिदिएको छ। अमेरिकी सैन्य स्रोतका अनुसार यस क्षेत्रमा तैनाथ कुनै पनि अमेरिकी अधिकारी वा सैनिकलाई क्षति पुगेको छैन।

कुवेत र बहराइनले इरानको यो कदमलाई क्षेत्रीय शान्ति र सार्वभौमिकतामाथिको गम्भीर खतरा भन्दै यसको कडा शब्दमा निन्दा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *