जुलाई २०२५ मा इरानमा पक्राउ परेका दस जना भारतीय जहाज चालक दलका सदस्यलाई लामो कूटनीतिक प्रयासपछि रिहा गरिएको भारतले जनाएको छ । भारतको समुद्री यातायात महानिर्देशालयका अनुसार एमभी हार्बर फिनिक्स जहाजका चालक दलका ती सदस्यहरू जुलाई २०२५ मा जास्क बन्दरगाहनजिकैबाट पक्राउ परेका थिए । उनीहरुलाई त्यसपछि हिरासतमा राखिएको थियो ।
महानिर्देशालयले जारी गरेको विज्ञप्तिमा ती जहाजचालकहरु अहिले रिहा भइसकेको र सुरक्षित रहेको जनाएको छ । उनीहरूलाई छिट्टै भारत फर्काउन आवश्यक समन्वय भइरहेको पनि जनाएको छ । इरानी सुरक्षा निकायहरूले खाडी क्षेत्रमा अवैध इन्धन ओसारपसारमा संलग्न जहाजहरूलाई नियमित रूपमा रोक्ने गरेको घोषणा गर्दै आएका छन् । यसै सन्दर्भमा उक्त ट्याङ्कर पनि निगरानीमा परेको हुनसक्ने अनुमान गरिएको छ ।
भारतले जहाज चालकहरुको रिहाइका लागि सालीन कूटनीति अपनाउँदै सार्वजनिक रूपमा कम टिप्पणी गर्ने नीति लिएको थियो । उनीहरूलाई किन पक्राउ गरिएको हो वा जहाजसँग सम्बन्धित विस्तृत कारण के थियो भन्नेबारे भारतले औपचारिक रूपमा थप विवरण दिएको छैन ।
जहाज ट्र्याकिङ साइटहरूका अनुसार एमभी हार्बर फिनिक्स पलाउ झण्डा भएको तेल उत्पादन ट्याङ्करको रूपमा सूचीबद्ध गरिएको थियो ।
