भारतमा परीक्षणपछि फेरि चिया निर्यात गर्न बाटो खुल्यो

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालबाट भारततर्फ निर्यात हुने चिया १९ दिनपछि बल्ल खुलेको छ । भारत सरकारले कडाइ गर्दै चिया भित्रिन नदिएपछि नेपालबाट चिया निर्यात ठप्प थियो । भारतीय चिया बोर्डले विदेशबाट आयात गरिने चियाको गुणस्तर परीक्षण र प्रक्रियाका सम्बन्धमा नयाँ निर्देशिका जारी गरसँगै बाटो खुलेको हो ।

उक्त बोर्डले जेठ ५ गते (मे १९, २०२६) मा जारी गरेको नयाँ सूचनाले यसअघि मे १ देखि कार्यान्वयनमा आएको अनिवार्य परीक्षणको नियममा केही महत्त्वपूर्ण परिवर्तन र स्पष्ट व्यवस्था गरेको छ । गत मे १२, २०२६ मा भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण, भन्सार विभाग, चिया बोर्ड र वाणिज्य विभागका प्रतिनिधिहरूबीच भएको संयुक्त बैठकपछि यस्तो निर्णय लिइएको हो ।

“भारत ल्याएर पुनः अन्य देशमा निर्यात गरिने चियाको हकमा चिया बोर्डले गुणस्तर सुनिश्चित गर्न अनिवार्य परीक्षण गर्नेछ । यसका लागि १० फेब्रुअरी २०२६ मा तोकिएको मानक सञ्चालन प्रक्रिया पालना गर्नुपर्नेछ,” भारतीय चिया बोर्डद्वारा जारी पत्रमा उल्लेख छ ।

भारतको आन्तरिक बजारमा मात्र बिक्रीका लागि आयात गरिने चियाको हकमा भने तत्कालका लागि चिया बोर्डको अनिवार्य परीक्षण आवश्यक पर्ने छैन । यस्तो चियाको नमुना संकलन र परीक्षण भन्सार तथा भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई)ले आफ्नो जोखिम व्यवस्थापन प्रणाली अनुसार गर्नेछन् । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणबाट अर्को औपचारिक निर्देशन नआएसम्म यो व्यवस्था लागु रहनेछ ।

निर्देशिकामा गरिएको अर्को महत्त्वपूर्ण संशोधनअनुसार, सम्बन्धित प्रयोगशालाहरूले चियाको नमुना प्राप्त गरेको पाँच दिनभित्र परीक्षण प्रतिवेदन अनिवार्य रूपमा अपलोड गरिसक्नुपर्नेछ । नयाँ व्यवस्थाअनुसार पुनः निर्यातका लागि अनिवार्य परीक्षण गर्नुपर्ने पर्नेछ । तर, यसअघि यस्तो परीक्षणको नतिजालाई १५ दिन कुर्नुपर्दा व्यवसायीलाई लागत धेरै बढ्थ्यो । अब पाँच दिनमै परीक्षण हुने भएकाले सहज हुने बताउँछन्, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दिपक खनाल , यो नयाँ नियम चिया निर्यात र वितरण नियन्त्रण आदेश, २००५ अन्तर्गत इजाजतपत्र प्राप्त सबै व्यवसायीहरूका लागि जारी गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *