दसैँतिहारका लागी सुरुङमार्ग खुल्नेमा आशंका

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सरकारले दसैँ र तिहारलगायतका चाडपर्व लक्षित गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउने भनिए पनि अझै त्यसको टुङ्गो लाग्न सकेको छैन । दसैँ सुरु भएको दुई दिन बितिसक्दा पनि सो सुरुङमार्ग सञ्चालनबारे टुङ्गो लाग्न नसकेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मन्त्रालयमा असोज ४ गते बसेको बैठकमा दसैँ र तिहारलगायतका चाडपर्व लक्षित गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउन मन्त्रालयका सचिव, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलाई निर्देशन दिएका  थिए ।

सुरुङमार्ग भएर सवारीसाधन चलाउन आवश्यक तयारी पूरा हुन नसकेको तथा तयारी पूरा नहुँदै सवारीसाधन चलाउँदा सुरक्षाका दृष्टिकोणले जोखिमयुक्त हुन सक्ने भन्दै निर्माण कम्पनी र परामर्शदाता कम्पनी तत्काल सुरुङमार्ग सञ्चालनका लागि तयार हुन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव  केशवकुमार शर्माले चाडपर्वमा आमनागरिकलाई गन्तव्यमा पुग्न सहज होस् भन्दै मन्त्रीबाट निर्देशनबमोजिम आफूहरू सो सुरुङमार्ग सञ्चालनका लागि तयार भए पनि निर्माण कम्पनी र परामर्शदाता कम्पनीले सुरक्षाको जोखिम देखाउँदै सुरुङमार्ग सञ्चालनमा ल्याउन नमानेको जानकारी दिए  । तयारी पूरा नहुँदै सञ्चालनमा ल्यायो भने सुरुङभित्र सवारीसाधन दुर्घटना हुन सक्ने, सवारीसाधन दुर्घटना हुँदा त्यसको उद्धार कार्य कठिन हुन सक्ने, आक्सिजनको समस्या हुन सक्नेलगायतका जोखिम हुने भनाइ निर्माण कम्पनी र परामर्शदाता कम्पनीको रहेको सचिव शर्माले बताए  ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख  सञ्जय पन्थीले तत्काल सुरुङमार्ग सञ्चालनका लागि छलफल र पुनर्विचार गर्न निर्माण कम्पनी र परामर्शदातालाई आग्रह गरिएको बताउँदै उनीहरूको स्वीकृति नभएसम्म सञ्चालन गर्न नमिल्ने स्पष्ट पारे  । सुरुङमार्ग सञ्चालनबारे निर्माण कम्पनी र परामर्शदाता कम्पनी अझै टुङ्गोमा पुग्न नसकेको उनको भनाइ छ ।

उनले भने , “सम्झौता अनुसार सुरुङमार्गको निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण नगरेसम्म सम्पूर्ण अधिकार निर्माण कम्पनीकै हुन्छ । उनीहरूको स्वीकृतिबिना त्यसमा केही चलाउन मिल्दैन । त्यही भएर निर्माण सम्पन्न भएर हस्तान्तरण नगरेसम्म उनीहरूको स्वीकृतिबिना सुरुङमार्ग सञ्चालनमा ल्याउन मिल्दैन । जबरजस्ती सञ्चालनमा ल्याएमा त्यसमा कुनै दुर्घटना वा क्षति भयो भने त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले ब्यहोर्नुपर्ने हुन्छ ।”

गत साल असोजमा जस्तै राहत र उद्धारको क्रममा केही समय सुरुङमार्ग सञ्चालन गर्न सकिए पनि अहिलेकै अवस्थामा नियमित सञ्चालन गर्न नसकिने निर्माण कम्पनीको भनाइ रहेको आयोजना प्रमुख पन्थी  बताउछन । पोहोर साल असोजमा पहिरोका कारण नागढुङ्गा–नौबिसेखण्ड अवरुद्ध हुँदा जाममा परेका यात्री र सवारीसाधनलाई यही सुरुङमार्ग भएर उद्धार गरिएको थियो ।

निर्माण कम्पनीले आगामी पुस मसान्तसम्म काम सम्पन्न गरेर हस्तान्तरण गरिसकेपछि सुरुङमार्ग सञ्चालनका लागि कुनै कम्पनीलाई ठेक्कामा दिने बताउँदै उनले त्यसपछि मात्र सो सुरुङमार्ग नियमित सञ्चालनमा आउन सक्ने स्पष्ट पारे ।

सुरुङमार्ग सञ्चालनका लागि कम्पनी छनोट प्रक्रिया सुरु भइसकेको पन्थीले जानकारी दिदै कम्पनीले सञ्चालनको जिम्मा लिइसकेपछि सञ्चालनका क्रममा हुन सक्ने कुनै पनि दुर्घटना, क्षतिलगायत हरेक किसिमको जोखिमको जिम्मेवार सोही कम्पनी हुने स्पष्ट पारे  ।

आयोजना प्रमुख पन्थीका अनुसार सुरुङमार्ग आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ । भौतिक संरचना (सुपर स्ट्रक्चर) को काम सम्पन्न भइसकेको छ । अहिले परीक्षण (टेस्टिङ) र फिनिसिङको काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *