मुग्लिन-नारायणघाट सडक खुल्न तीन दिन लाग्न सक्ने

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मुलुककै सबैभन्दा व्यस्त राजमार्गहरू मध्येको एक मुग्लिन-नारायणघाट सडकखण्ड सुख्खा पहिरोका कारण पूर्ण रूपमा बन्द छ।चितवनको इच्छाकामना-५ स्थित तुइन खोलामा मंगलबार अपरान्ह करिब ५ बजेतिर पहाडको ठूलो हिस्सा नै खसेपछि यातायात आवागमन अनिश्चित बनेको हो।

सडक विभागका महानिर्देशक डा. विजय जैशीले पहिरोको आकार निकै ठूलो भएकाले पन्छाउन कम्तीमा तीन दिन लाग्ने अनुमान गरिएको सुनाए। ‘आज तुइन खोलामा खसेको पहिरो सामान्य होइन, सानो पहाड नै खसेको जस्तो छ,’ महानिर्देशक जैशीले भने, ‘त्यसैले यो खण्डमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न हामी सबैमा अनुरोध गर्दछौं।’

विभागले यात्रुहरूलाई काठमाडौं आवतजावतका लागि त्रिभुवन राजपथ र कान्ति लोकपथ प्रयोग गर्न आग्रह गरेको छ। पहिरोसँगै खसेको एउटा विशाल ढुङ्गाले सडक खुलाउने कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ। ‘पहिरो पन्छाउन त समय लाग्छ नै, त्योभन्दा पनि ठूलो चुनौती एउटा विशाल ढुङ्गा बनेको छ,’ जैशीले भने, ‘त्यसलाई पन्छाउन धेरै समय लाग्न सक्छ।’

यस वर्षायाममा तुइन खोला पहिरोको ‘हटस्पट’ बनेको छ। पटक-पटक पहिरो खसेर यात्रुहरूले सास्ती खेप्दै आएका छन्। विभागका एक अधिकारीका अनुसार, तीन दिनभित्र खुलाउने प्रयास भए पनि पहिरोको प्रकृति हेर्दा यो खण्ड लगभग अनिश्चितकालका लागि बन्द भएको जस्तै हो। दशैंको मुखमा मुख्य राजमार्ग नै अवरुद्ध हुँदा हजारौं यात्रुको यात्रा थप कष्टकर र अनिश्चित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *