आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ, प्रधानमन्त्रीको कार्यकक्ष

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ। सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पुरानै सरसामानको सारेर कार्यकक्ष निर्माणमा नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारी जुटेका छन्।

आज बिहानदेखि नै पुरानो प्रधानमन्त्री कार्यालयबाट आगजनी र तोडफोड हुनबाट बचेका टेबल, कुर्सी, सोफा, कम्प्युटर लगाययका सामग्री नयाँ कार्यालयतर्फ लैजाने क्रम चलिरहेको थियो। पुरानै फर्निचर, सरसामग्री र उपकरणको व्यवस्थापन गरी नयाँ प्रधानमन्त्री कार्यालय सञ्चालनका लागि तयार गरिँदै छ।

आगजनी भएको पाँचौँ दिन पनि सिंहदरबाको मुल भवनको पश्चिमतर्फको भागमा आगो बलिरहेको छ। तोडफोड र आगजनी भएका अधिकांश मन्त्रालय परिसरमा जलेका सवारी साधन, कागजपत्रलगायत सरसामग्री छरपष्ट छन्।

यसैबिच, आगजनी र तोडफोडबाट बढी क्षति पुगेको मध्येको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भने शनिबार बिदाको दिन भए पनि सचिव चुडामणि पौडेलको नेतृत्वमा कर्मचारीको ठुलै सङ्ख्या स्वस्फूर्तः रूपमा सरसफाइ र फोहाेर व्यवस्थापनमा जुटेका छन्। अन्य मन्त्रालयजस्तै शिक्षा मन्त्रालय परिसरमा पनि सवारी साधन जलेर ‘मानव कङ्काल’ अवस्थामा रहेका छन्।

मन्त्रालयको भूमिगत पार्किङमा राखिएका सवारी साधनमा पनि प्रदर्शनकारीले आगजनी गरेर  सखाप पारेका छन्। आज बिहान ८ बजेदेखि नै सरसफाइमा जुटिरहेका मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले मन्त्रालयकै जनशक्ति खटिइ सरसफाइ, फोहाेर व्यवस्थापन गरी दैनिक कार्य सञ्चालन गर्ने प्रयासको थालनी गरिएको बताए ।

“सरसफाइको काम अघि बढाएका छौँ, समय लाग्छ, सरसफाइ सकेर मर्मत सम्भारमा लाग्छौँ”, प्रवक्ता सापकोटाले भने , “कर्मचारीबाट जुटेर गर्न सकिनेसम्मका काम सकेसम्म गर्छौँ।” आगजनीबाट कति क्षति भयो त्यसको आँकलन गर्न नसक्दा क्षतिको लगत निकाल्न नसकिएको उनको भनाइ छ।

प्रवक्ता सापकोटाले भने , “क्षतिको लगत निकाल्न एउटा टोली बनाएका छौँ, त्यसले काम गरिरहेको छ, पार्किङमा राखिएका गाडी, कम्प्युटर, फर्निचर, टेलिभजन सेटमा क्षति पुगेका छन्।” आफैँ जुटेर काम गर्दा के–कति क्षति भयो र कुन विधिबाट काम अघि बढाउँदा कार्यालय छिटो तयार गर्न सकिने उनको भनाइ छ।

संरचनागत क्षति नभएको स्थानमा कार्यालयलाई पूर्ववत् अवस्थामा ल्याउन आफूहरूले गरिरहेको कामले सहयोग पुग्ने उनको विश्वास छ। शिक्षा मन्त्रालयका कर्मचारी जुटेर अघि बढाइएको त्यस कार्यले आन्दोलनबाट प्रभावित भएका अन्य मन्त्रालय र कार्यालय सञ्चालनका लागि प्रेरित गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *