चियाबारी–खुर्कोट सुरुङ निर्माण छिटो अघि बढाउन सांसदहरूको माग

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गअन्तर्गत पर्ने चियाबारी–खुर्कोट सुरुङ निर्माण कार्य छिटो अघि बढाउन सांसदहरूले माग गरेका छन्। शनिबार सिन्धुली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)को नेतृत्वमा संघीय संसदका ७२ जना संसदले संयुक्त रूपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको ध्यानाकर्षण गराएका हुन्।

सांसदहरूले  बीपी राजमार्गको चियाबारी–खुर्कोट खण्डको ३२ किलोमिटर साँघुरो र घुम्ती भएका कारण दुर्घटना हुँदा मानवीय तथा भौतिक क्षति हुने क्रम बढ्दै गएको भन्दै तत्काल चियाबारी–खुर्कोट सुरुङ निर्माण गर्नुपर्ने माग गरेका छन्।

चियाबारी–खुर्कोट सुरुङ निर्माणका लागि यसअघि नै डीपीआर निर्माण सम्पन्न गरी सकिएको भए पनि सरकारले व्यवस्था गरेको भन्दै तत्काल रकमको सुनिश्चित गरेर निर्माण कार्यअघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराइएको सांसद दाहालको भनाइ छ।

बीपी राजमार्गको चियाबारी–खुर्कोट खण्ड साँघुरो र घुम्ती मात्र नभएर भारवाहन क्षमता समेत कम भएका कारण मालवाहक सवारी आवतजावत गर्न कठिनाइ हुने गरेको छ। ‘जसका कारण सिन्धुलीको सुनकोसी, रामेछाप, काभ्रे, ओखलढुङ्गा, दोलखा, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायत अन्य पूर्वी पहाडी जिल्ला नागरिकहरूले समय र आर्थिक व्ययभार व्यहोर्दै आउन बाध्य छन्। त्यही सडकमा हुने दुर्घटनामा धनजनको समेत क्षति हुने गरेकाले हामीले सुरुङ मार्ग निर्माणको काम तत्काल थाल्न माग गरेका हौं,’ सांसद दाहालले भने।

चियाबारी–खुर्कोट खण्डको दूरी अहिले २९ दशमलव ८ किमी रहेको छ। सुरुङ मार्ग निर्माणपश्चात खुर्कोट–चियाबारी ८.५ किमीमा छोट्टिने छ। अहिले उक्त दूरी पार गर्न एकदेखि डेढ घण्टा लाग्ने गरेको छ। सुरुङ निर्माण गर्न सकिए ६ मिनेटमा उक्त दूरी छिचोलिने बताइएको छ। चियाबारी–खुर्कोट सुरुङ कमलामाई नगरपालिका-२ को चियाबारी माथि फेदीबाट सुरु भई गोलन्जोर गाउँपालिका-७ को तल्लो बारामा निस्कनेछ। सुरुङमार्ग निर्माणका लागि गरिएको डीपीआरमा १६ अर्ब ८१ करोड ८७ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *